धादिङ । एक दशक लामो समयदेखि -याफ्टिङ, क्यानोइङ, कायाकिङ सञ्चालन गर्दै आएको पृथ्वी राजमार्गको आकर्षक ’होलिडे डेस्टिनेसन’ त्रिशूली रिभरसाइड रिसोर्टले त्रिशूली नदीमाथि जिपलाइन र स्काइ साइक्लिङ सञ्चालनमा ल्याएको छ । काठमाडौंबाट ७० किलोमिटर दूरीमा पृथ्वी राजमार्गको मलेखुनजिकै मालिङ्गामा रहेको रिसोर्ट परिसरमा नेपालमै पहिलोपटक खोला वारपार गर्ने स्काइ रोप साइक्लिङ तयार भएको रिसोर्टका सञ्चालक उद्धव कँडेलले बताए ।
स्काइ साइक्लिङमा दुईवटा ट्रयाक छन् । एउटा ट्रयाकमा एक जना खेल्न मिल्छ भने अर्कोमा जोडी नै एकैसाथ खेल्न मिल्छ । यसरी दुवै जना खेल्न मिल्ने यो नेपालकै पहिलो स्काइ रोप साइक्लिङ भएको कँडेल बताउँछन् । दुईतर्फी दूरी तीन सय ५० मिटर रहेको साइक्लिङ खेल्न प्रतिव्यक्ति एक हजार रुपैयाँ र फोटो भिडियो बनाउन थप पाँच सय लाग्ने कँडेलले जानकारी दिए । रिसोर्टमा जिपलाइन पनि नदी पार गर्ने गरी नै बनाइएको छ । रिसोर्ट परिसरबाट जिपलाइन नदी पारितर्फ ल्यान्डिङ हुन्छ । दुई सय मिटर लामो जिपलाइन खेल्न एक हजार रुपैयाँ र फोटो भिडियो बनाउन पाँच सय लाग्ने रिसोर्टका सञ्चालक कँडेलले बताए ।
जिपलाइन गरेर नदी पार गर्ने पर्यटक स्काई साइक्लिङ गरेर फर्किन सक्छन् । यो कम्बो प्याकेज बुकिङ गर्नेले विशेष छुट समेत पाउने बताइएको छ । पर्यटकलाई थप सुविधा दिन जिपलाइनको ल्यान्डिङतर्फ २५ वटा भिल्ला, टेन्टेड क्याम्प, स्पा, साउना, स्टिम, स्विमिङ पुल निर्माण भइरहेको कँडेल बताउँछन् । जिपलाइन र स्काई रोप साइक्लिङको लागत करिब दुई करोड रहेको र आगामी दिनमा अन्य एड्भेन्चर गतिविधि थप्दै लगिने उनले बताए ।