काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपाल–भारतभित्रका ग्राहकहरूलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) सँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरूलाई सामान खरिद गर्दा क्यूआरमार्फत भारत–पे, पेटाइम, गुगल–पेलगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिनेछ ।
उक्त सुविधा प्रदान गर्नको लागि सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकलेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् । सेवा सञ्चालनमा आएपश्चात् यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव हुनेछ । अब भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी प्रदायकको भुक्तानी सेवा जस्तैः भारत–पे, पे–टाइम, गुगल–पे आदिबाट नेपाली र भारतीय व्यापारीबीच क्यूआर पेमेन्टमार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिनेछ ।
साथै, बैंकका ग्राहकहरूले पनि भारतीय व्यापारीहरूलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी, ग्राहकहरूले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकहरूबाट ग्लोबल आईएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न पनि सक्नेछन् । यसले क्रस बोर्डर रेमिट्यान्स व्यवसायलाई समेत बढावा दिनेछ । सुरक्षित र भरपर्दो माध्यमको रूपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवर्द्धनका लागि ग्लोबल आईएमई बैंकले सदैव अग्रसर रहिआएकोे छ ।