काठमाडौं । बैैंकिङ क्षेत्रको कुल निक्षेप ४८ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले यही चैत १३ गते अद्यावधिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ६१ वटा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप झण्डै ४९ खर्ब रुपैयाँ पुगेको हो ।
यस अवधिमा वाणिज्य बैंकहरुको मात्र कुल निक्षेप ४३ खर्ब २९ अर्ब रुपैयाँ पुग्दा विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल निक्षेप भने पाँच खर्ब ६९ अर्ब रुपैयाँ कायम छ । राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम भने गत साता अर्थात् यही चैत १३ सम्म ४६ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । उक्त कर्जामध्ये वाणिज्य बैंकहरुको मात्र कुल कर्जा रकम ४१ खर्ब ६६ अर्ब रुपैयाँ पुग्दा विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम भने पाँच खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार गत सातासम्म बैंक तथा फाइनान्स कम्पनीहरुले संकलन गरेको उक्त निक्षेप र प्रवाह गरेको उक्त कर्जाको आधारमा बैंकिङ क्षेत्रमा हाल कायम रहेको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ९० दशमलव ७० प्रतिशतमा कायम छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा भने ६० अर्ब रुपैयाँबराबरको तरलता प्रशोचन गरेको छ । रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब तरलता प्रशोचन गरिएको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको सोही अवधिमा भने रिभर्स रिपोमार्फत ८९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत एक खर्ब ९३ अर्ब ७५ करोड गरी कुल दुई खर्ब २८३ अर्ब २९ करोड तरलता प्रशोचन भएको थियो ।
राष्ट्र बैैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा रिपोमार्फत तीन खर्ब ४२ अर्ब ९३ करोड, सोझै खरिद उपकरणमार्फत २७ अर्ब २२ करोड र स्थायी तरलता सुविधामार्फत ३७ खर्ब १५ अर्ब ९० करोड गरी कुल ४० खर्ब ८६ अर्ब ४ करोड तरलता प्रवाह गरिएको छ । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) मा अमेरिकी डलर ९० करोड २२ लाख खुद खरिद गरी एक खर्ब आठ अर्ब ३२ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब २४ करोड खुद खरिद गरी दुई खर्ब ६४ अर्ब ४९ करोड तरलता प्रवाह गरिएको थियो ।
यसैगरी चालू आवको सात महिनामा अमेरिकी डलर दुई अर्ब ६४ करोड बिक्री गरी तीन खर्ब १५ अर्ब नौ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर दुई अर्ब ४० करोड बिक्री गरी दुई खर्ब ८३ अर्ब ४० करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
चोभारको सुख्खा बन्दरगाहको लागि समेत प्रतीतपत्र कारोबार गर्न सकिने
नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न चोभारको सुक्खा बन्दरगाहको लागि पनि प्रतीतपत्र (एलसी) कारोबार गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले मंगलबार एलसीको कारोबार गर्न अधिकारप्राप्त वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन तथा थप गरी विदेशी विनिमय (नियमित गर्ने ऐन २०१९) को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था कार्यान्वयनमा ल्याएको राष्ट्र बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय व्यापारको लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्थाबमोजिम चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुने गरी समेत जारी गर्न सकिने परिपत्रमा उल्लेख छ ।
साथै मेची, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भइसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्थाबमोजिम चोभार सुक्खा भन्सार कार्यालयको नाममा भन्सारविन्दु परिवर्तन गर्न सकिने परिपत्रमा भनिएको छ ।