काठमाडौं । पब्जी मोबाइल प्रो लिगको दक्षिण एसिया वसन्त यात्रा सुरु भएको छ । नेपालका उत्कृष्ट इ–स्पोर्ट्सका खेलाडीहरुले देशको प्रतिनिधित्व गर्दै २०२२ पब्जी मोबाइल प्रो लिगको साउथ एसिया स्प्रिङ (पीएमपीएल) प्रतिस्पर्धामा भाग लिएका छन् ।
दक्षिण एसियामा रहेका पब्जी मोबाइलका उत्कृष्ट खेलाडीहरुले अमेरिकी डलर एक लाख ५० हजारका लागि प्रतिस्पर्धा गर्ने छन् र पीएमपीएल दक्षिण एसिया च्याम्पियनको ताज पहिरिनेछन् । पीएमपीएलले नेपाल, श्रीलंका र मंगोलियाबाट यस प्रतिस्पर्धाका लागि खेलाडी छनोट गर्न एकपटक क्वालिफायर आयोजना गरेको थियो । यस पीएमपीएल क्वालिफायरमा भाग लिनका लागि उदाउँदै गरेका पीएमपीएल टिमका साथै २०२१ को पब्जी मोबाइल तथा पीएमपीएल २०२१ प्रतिस्पर्धामा उत्कृष्ट रहेका टिमहरुलाई पनि आमन्त्रण गरिएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलपछि चारवटा टिम छनोट भएका थिए भने यसअघि भएका प्रतिस्पर्धामा गरेको प्रदर्शनका आधारमा सातवटा टिमलाई आमन्त्रण गरिएको छ । यस वर्षको पीएमपीएल दक्षिण एसिया प्रतिस्पर्धामा २० वटा टिमले प्रतिस्पर्धा गर्दै छन् जसमा ११ वटा नेपाली टिम छन् ।
पीएमपीएल दक्षिण एसिया २०२२ मा भाग लिने ११ नेपाली टिमहरु दा एट्राक्स इ–स्पोर्टस, डेडआइज गाइज, भाइब्स ईस्पोर्टस, स्काइलाइट्ज गेमिङ, ट्रेण्ड टु किल, रअ ईस्पोर्टस, हाइ भोल्टेज, डीआरएस गेमिङ, ज्यानमारा इ–स्पोर्टस, ७सि इ–स्पोर्टस र इलिमेट्रिक्स रहेका छन् । पीएमपीएल दक्षिण एसिया २९ मार्चदेखि सुरु भएर चार हप्तासम्म सञ्चालन हुनेछ । हरेक साता २० टिमले साताको अन्तिममा हुने उत्कृष्ट १६ माझ हुने प्रतिस्पर्धामा आफ्नो स्थान पक्का गर्नका लागि खेल्नेछन् । चौथो हप्ताको अन्तिम प्रतियोगिता पश्चात सबै टिमले पाएको अंक गणना गरेर उत्कृष्ट टिम विजयी हुनेछ । नेपाल तथा दक्षिण एसियामा नै इ–स्पोर्टसप्रतिको आकर्षण बढ्दै गएको देखिन्छ । पब्जी मोबाइल नेपालको सबैभन्दा ठूलो इ–स्पोर्टस उपाधि हो भने इ–स्पोर्टसकै प्रमुख कारक पनि हो । यो एक सामूहिक खेल हो जसमा आखा र हातको समन्वय र रणनीतिक सोच आवश्यक पर्छ । पछिल्लो समय एसियामा पब्जी मोबाइलप्रति आकर्षण बढेको छ र हाङजाउ २०२२ एसियन गेम्समा पनि यसलाई इ–स्पोर्ट्स मेडल इभेन्टका रुपमा संलग्न गरिएको छ ।
टान्सेन्टको पब्जी मोबाइल इ–स्पोर्टसले यो क्षेत्रकै इ–स्पोर्ट्सको वातावरणलाई बढावा दिने प्रयास गरेको छ । यसैको फलस्वरुप प्रतिस्पर्धात्मक वातावरण कायम राख्न पीएमपीएलले हरेक वर्ष प्रतियोगिता आयोजना गर्नेछ । पीएमपीएल इ–स्पोर्टसको एउटा विधा हो जसमा क्षेत्रकै उत्कृष्ट खेलाडीहरु प्रतिस्पर्धा गर्ने छन् र हाम्रो कौशलका आधारमा विजेता चुनिनेछन् । यो प्रतियोगिता प्रस्तिपर्धीहरु सहभागी देशमा प्रसारण पनि गरिनेछ । टान्सेन्टको सामाजिक सञ्जालका एकाउन्टहरुका साथै नेपालको लोकल टिमको सामाजिक सञ्जालका एकाउन्टबाट पनि यो प्रतियोगिता प्रसारण गरिने छ ।