खेमराज अधिकारी
खोटाङ, माघ २९
खोटाङको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसीको जग्गामा स्थानीयवासीले कब्जा जमाएको पाइएको छ । हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानस्थित हलेसी (हलेश्वर महादेव), माल्कु, गैरीगुठ, डाँडागुठलगायतको जग्गामा स्थानीयवासीले कब्जा जमाएको पाइएको हो ।
हलेसी क्षेत्रको जग्गा स्थानीयवासीले कब्जा गरेपछि हलेसीको चौतर्फी विकासमा लागि तयार गरिएको हलेसी गुरुयोजना निर्माणमा समस्या आएको नगरप्रमुख इवन राईले बताए । राईका अनुसार हलेसीको बृहत् गुरुयोजनामा हलेसी गुफा आसपासका दुई मिटर वर्गाकार क्षेत्रभित्रको जग्गा आवश्यक पर्छ । स्थानीयले अतिक्रमण गरेको हलेसीको जग्गा नछोड्दा गुरुयोजना निर्माणमा अवरोध भएको छ ।
२०४४ सालमा तत्कालीन राजा वीरेन्द्रको भ्रमणको बेला गुरुयोजना बनाएर निश्चित क्षेत्रभित्र भएका विभिन्न आठवटा घर तथा घडेरीलाई मुआब्जा उपलब्ध गराइएको हलेसी विकास समितिका निर्देशक समरबहादुर भुजेलले जानकारी दिए । यद्यपि स्थानीयवासीले जग्गाको मुआब्जा लिएर पनि अहिलेसम्म घरजग्गा खाली गर्न आनाकानी गरिरहेका छन् ।
हलेसीको चौतर्फी विकासका लागि नगरपालिकाको पहलमा विसं २०७५ जेठदेखि थालिएको गुरुयोजनाको कामलाई केही हप्ताअघि मात्र अन्तिम रूप प्रदान गरिएको छ । हलेसीलाई व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गुरुयोजना निर्माण गरिएको गुरुयोजना निर्माण समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । हलेसी मन्दिर र आसपासमा रहेका पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रको विकासका लागि गुरुयोजना तयार गरिएको हो । गुरुयोजना निर्माण भएसँगै हलेसी मन्दिरको केन्द्रबाट दुई मिटर वृत्ताकार क्षेत्रभित्रको जग्गा अधिग्रहण गर्ने, हलेसीको २६ रोपनी जग्गाभित्र कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने भएको छ ।
हलेसी धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक सौन्दर्यले पनि उचिकै प्रख्यात छ । हलेसीलाई मध्यपहाडी लोकमार्गले राष्ट्रिय सडक सञ्जालसँग जोडेसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ । काठमाडौँ, पोखरा तथा तराईका जिल्लाहरूमा सिधा यातायातको पहुँच विस्तार भएसँगै ती स्थानहरूबाट ठूलो संख्यामा दर्शनार्थी आउने गरेका छन् । पूर्वको पशुपतिनाथ भनेर चिनिने धार्मिक,साँस्कृतिक तथा पर्यटकिय स्थलको रूपमा परिचित हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ ।