काठमाडौं । मुलुकको प्रमुख जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।
कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बीमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो । कार्यालय विस्तारबाट अझ बढी सर्वसाधारणको पहुँचमा बीमा सेवा पु-याउन, सर्वसाधारणलाई जीवन बीमाको महत्व बुझाउन र बीमितले सहजरूपमा सेवा प्राप्त गर्ने वातावरण बनाउन सहज हुने कम्पनीको अपेक्षा छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सीईओ भट्टराईले कम्पनी आफ्ना प्रडक्ट र सेवालाई डिजिटलाइज गर्दै डिजिटल प्राइम लाइफ बन्ने लक्ष्यमा अघि बढीरहेको बताए । यसले बीमितलाई घरैमा बसेर बीमालेख खरिद गर्न र सुरक्षित रूपमा बिमा शुल्क भुक्तानी गर्न मदत गर्ने उनले बताए । उनले हालको परिस्थितिमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिनुपर्नेमा पनि जोड दिए । सीईओ भट्टराईले लेखनाथ कार्यालयलाई बीमाशुल्क उठाउनेमा मात्र सीमित नराखी बीमासम्बन्धी जागरण फैलाउने काममा पनि परिचालन गर्ने बताए ।
आगामी दिनमा कम्पनीले ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएका सीईओ भट्टराईले कम्पनीले ग्राहकमैत्री सेवामा जोड दिएकै कारण उनीहरूमा कम्पनीको सेवाप्रति सन्तुष्टिको स्तर बढिरहेको बताए । कार्यक्रमका विशिष्ट अतिथि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथमा बीमा व्यवसाय विस्तार भएककोमा खुसी व्यक्त गरे । नेपालको बीमासम्बन्धी क्रियाकलापप्रति सर्वसाधारण त्यति सन्तुष्ट नभएको र अभिकर्ताहरू बीमा शुल्क उठाउन मात्र दौडिरहेको उनले बताए । अध्यक्ष आत्रेयले बीमितको हित हुनेगरी बीमा व्यवसाय गर्नुपर्नेमा पनि जोड दिए ।
सो कार्यक्रममा कम्पनीका बजार प्रमुख नविन थापा, गण्डकी प्रदेश प्रमुख शिवप्रसाद पौडेल, लेखनाथ शाखा प्रमुख निर्मला भट्टराई, दर्जनौँ अभिकर्तालगायत सर्वसाधरणको सहभागिता थियो ।
प्राइम लाइफ इन्स्योरेन्सबारे : प्राइम लाइफ इन्स्योरेन्सले २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको हो । मजबुत सुरुआतसँगै प्राइम लाइफले सबल संरचनायुक्त व्यावसायिक स्वरूप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी देशको उत्कृष्ट जीवन बीमा कम्पनीको परिचय बनाएको छ । कम्पनी आगामी दिनमा अझ बढी उत्तरदायी तथा व्यावसायिक भई जीवन बीमा व्यवसायलाई पारदर्शी बनाउँदै उत्कृष्ट जीवन बीमा सेवा प्रदायकको पहिचान बनाउन प्रयासरत छ ।