आशिषबहादुर सिंह
बझाङ, माघ २९
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बझाङका प्रमुख रणबहादुर कठायतलाई छानबिनका लागि काठमाडौँ बोलाएको छ । जिल्ला हुलाक कार्यालयबाट सञ्चालन हुने हुलाक बचत बैंकको रकम हिनामिना गरेको भन्दै उजुरी परेपछि कार्यालय प्रमुख कठायतलाई अख्तियारले छानबिनका लागि बोलाएको हो । त्यस्तै सोमबार हुलाक कार्यालयका अर्का कर्मचारी शिवराज जोशीलाई पनि अख्तियारले छानबिनका लागि नियन्त्रणमा लिएको छ ।
अख्तियारको निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालय बझाङले जोशीलाई प्रकाउ गरी महेन्द्रनगर अख्तियार कार्यालयमा पठाएको प्रहरी नायब उपरीक्षक गणेश बमले बताए । जिल्ला हुलाक कार्यालयले सञ्चालन गरेको हुलाक बचत बैंकको रकम हिनामिना गरेको सम्बन्धी अख्तियारमा उजुरी परेको थियो । सोहीअनुसार दुई जनालाई अख्तियारले छानबिन थालेको हो । बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले कर्मचारीलाई छानबिनका लागि अख्तियारले झिकाएको जानकारी दिए ।
सहायक प्रजिअ सार्कीका अनुसार हुलाक बचत बैंकको चार करोड जतिको हिसाब किताब चुस्त दुरुस्त भेटिएको छैन । उनले भने, ‘प्रमुखसहित अन्य कर्मचारीहरूलाई अख्तियारले छानबिन गर्दै छ, प्रमाण हरेर सफाइ दिने वा मुद्दा दर्ता गरी असुलउपर कारबाही गर्ने अख्तियारको जिम्मा हो ।’ जिल्ला हुलाक कार्यालय प्रमुखसहित अन्य कर्मचारीहरूको मिलोमतोमा हुलाक बचत बैंकको रकम हिनामिना भएको जनगुनासो यसअघि पनि आउने गरेको थियो ।