काठमाडौं । माघ अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने भएसँगै निर्वाचन आयोग त्यसको तयारीमा जुटेको छ । जसअनुरुप आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवार बन्न चाहने सदस्यले स्थानीय तह निर्वाचन उम्मेदवारको स्वघोषणा मापदण्ड जारी गरेको छ ।
आयोगको बुधबार बसेको बैठकले स्थानीय तहसँग सम्बन्धित कानुनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको थियो । उक्त निर्देशिकामा उम्मेदवार हुने चाहने सदस्यबारे व्यवस्था गरिएको आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी गराएका छन् । प्रवक्ता पौडेलका अनुसार १९८ वटा बुँदामा उम्मेदवारको मनोनयनपत्र साथ पेश गर्नुपर्ने स्वघोषणा पत्र तयारी गरिएको छ ।
जसअनुसार नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको, गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, स्थानीय तह निर्वाचनसम्बन्धी कुनै कानुनले अयोग्य नभएको, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदानप्राप्त संस्थामा पारिश्रमिक वा सुविधा पाउने गरी बहाल नरहेको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पदधारण नगरको, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (ङ), (च), (छ), (ज), (झ), (ञ) र (ठ) बमोजिमको अयोग्यता नभएका व्यक्ति उम्मेदवार सदस्य बन्न पाउनेछन् ।
त्यस्तै, स्थानीय तह निर्वाचन ऐन, २०७३, स्थानीय तह निर्वाचन नियमावली, २०७४ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ बमोजिम मनोनयनपत्र साथ उम्मेदवारले पेश गर्नुपर्ने सबै कागजात पेश गरेको, प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम कायम नरहेको, मनोनयनपत्र साथ पेश गरेको सम्पत्ति विवरण ठीक साँचो रहेको, स्थानीय तहलाई कुनै जिन्सी वा नगद बुझाउन बाँकी नरहेको, कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल/अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको, सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको, संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमतिपत्र (डीभी/पीआर) नलिएको, न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिवाना तिर्न बुझाउन बाँकी नरहेको, निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्ध रहेको, निर्वाचन आयोगले तोकिदिएको निर्वाचन खर्चको सीमाभित्र रही खर्च गर्न र खर्चसम्बन्धी आचरण पालना गर्न प्रतिबद्ध रहेको, २१ वर्ष उमेर पूरा भएकोले स्थानीय निर्वाचन उम्मेदवार हुन योग्य नेपाली नागरिक भएको, नेपालको संविधान, कानुन र निर्वाचन ऐन नियमभित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको व्यक्ति उम्मेदवारको सदस्य बन्न पाउनेछन् । त्यसका साथै स्वघोषणापत्रमा उम्मेदवारले सम्पूर्ण विवरण ठीक साँचो रहेको र झुठा ठहरे कानुनबमोजिम सहन बुझाउन प्रतिबद्ध रहेको घोषणा समेत गर्नुपर्नेछ ।
आयोगले उम्मेदवारको स्वघोषणा अघिल्लो समयमा स्थानीय तह निर्वाचनलाई तयार गरिएको मापदण्डभन्दा धेरै अन्तर नरहेको जनाएको छ । सीमित बुँदाबाहेक अन्य बुँदाहरु अघिल्ला स्थानीय तहको निर्वाचनमा समेत व्यवस्था गरिएको बुँदाहरु समावेश गरिएको आयोगले जनाएको छ । यसैबीच आयोगले नेपालको संविधान तथा निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्था समेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानुनबमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणाप्रति उम्मेदवार स्वयं जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको छ ।
स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ मा निर्वाचन अधिकृतसम्बन्धी व्यवस्था, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा कर्मचारीसम्बन्धी व्यवस्था, निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुको काम कर्तव्य र अधिकार, उम्मेदवारको योग्यता तथा मनोनयन, मतदाता नामावली, मतदान र मतगणनासम्बन्धी व्यवस्थालगायत निर्वाचनको प्रभावकारी व्यवस्थापनको निम्ति आवश्यक विषयहरु समावेश गरिएका छन् । स्थानीय तहको निर्वाचन आउन अब ४३ दिन बाँकी छ ।