काठमाडौँ । सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पर्यटन विभागले पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौता रकम बुझाउन पाँच दिनको समयसीमा दिएका थिए ।
बक्यौता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि ती क्यासिनोले सरकारलाई तिर्नुपर्ने बक्यौता रकम नबुझाएका कारण बुधबार पर्यटन विभागले सूचना प्रकाशित गरी क्यासिनो बन्द गराउन गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए ।
उनले भने, ‘सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम बुझाउन हामीले तीन क्यासिनो कम्पनीलाई पाँच दिनको समय दिएका थियौँ, उहाँहरूले बक्यौता नबुझाएकाले बन्द गराउनका लागि पत्राचार गरेका हौँ ।’ पर्यटन विभागले दिएको जानकारीअनुसार रक इन्टरनेशनल प्रालि काठमाडौँको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौँको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (-याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड सरकारलाई क्यासिनो सञ्चालनबापत तिर्नुपर्ने बक्यौता बाँकी छ ।
पटक–पटक बक्यौता रकम बुझाउन क्यासिनो कम्पनीलाई पत्राचार गरिए पनि नबुझाएकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम ती कम्पनीका इजाजतपत्र/अनुमतिपत्र रद्द गरिएको विभागले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी छ । हालसम्म १७ वटा कम्पनीले रोयल्टी बुझाई सरकारको खातामा ८७ करोड राजस्व संकलन भएको विभागले जनाएको छ ।