कपिलवस्तु । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कपिलवस्तुको शुद्धोधन नगरपालिकोको गाउँब्लकमा रहेका ८२ घर–परिवारलाई लालपुर्जा वितरण गरेकी छिन् ।
नगरपालिका वडा नं. ६ को गाउँब्लकमा रहेका घरपरिवारलाई जग्गाधनी लालपुर्जा वितरण गर्दै उनले एक वर्षभित्र गाउँब्लकको जग्गासम्बन्धी सबै समस्या समाधान गरेर लालपुर्जा वितरण गरिसक्ने गरी योजना बनाएर काम अगाडि बढेको बताइन् । मन्त्री श्रेष्ठले चार महिनाको अवधिमा विभिन्न ठाउँका गाउँब्लकमा रहेका २० हजारभन्दा बढी भूमिहीनलाई लालपुर्जा वितरण गरिएको जानकारी दिइन् ।
उनले भूमिसम्बन्धी सबै विषय छिटोभन्दा छिटो समाधान गर्न अहिलेको सरकार लागिरहेको र त्यसैअनुरूप अभूमि चक्लाबन्दी गर्ने, कृषियोग्य जग्गा संरक्षण र उत्पादकत्व वृद्धि गर्न भूमिसम्बन्धी कानुन बनाउने काम भइसकेको पनि बताइन् । सरकारले सरकारी, सार्वजनिक, सामुदायिक र गुठीजग्गा संरक्षणको योजना बनाएर काम सुरु गरेको, वैज्ञानिक भूमि सुधारलाई लागू गरेर भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न अबको योजनामा नै व्यवस्था गर्न लागिएको पनि उल्लेख गरिन् ।
मन्त्री श्रेष्ठले हलिया, हरवा, चरवा, कमैया, कमलरीको समस्या समाधान गर्न अध्ययन समितिले स्थानीय तह, प्रदेश र संघले गर्ने काम समेटेर प्रतिवेदन तयार पारिराखेको र सोही प्रतिवेदनका आधारमा छिट्टै काम सुरु गर्ने प्रतिबद्धता समेत जनाइन् ।