बाँके । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बाँकेका युवाहरूलाई स्वरोजगार बन्नको लागि उपलब्ध गराएको कर्जाको ब्याज फिर्ता गरेको छ । बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बाँकेका चारवटा सहकारीबाट कर्जा लिएका एक सय ३७ जनाको ब्याज फिर्ता गरेका हुन् ।
बाँकेको कोहलपुरमा आयोजित कार्यक्रममा नेपालगञ्जको गृहिणी बहुउद्देश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्धेश्वर बहुउद्धेश्यीय सहकारी संस्था तथा कोहलपुरका सिर्जना कृषि सहकारी संस्था र गंगा जमुना कृषि सहकारी संस्थामार्फत कर्जा लिएका एक सय ३७ जनालाई १८ लाख रूपैयाँ अनुदान वितरण गरिएको हो ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहकारीमार्फत युवाहरूलाई आयआर्जन र स्वरोजगार गराउने उद्देश्यले प्रवाह गरेको ऋणको ब्याजमा ६० प्रतिशत स्वरोजगार कोषले फिर्ता गर्ने नीतिअनुरूप ब्याज रकम फिर्ता गरिएको हो । कोषको अध्यक्ष समेत रहेका मन्त्री गहतराजले गृहजिल्ला बाँकेबाट ब्याज रकम फिर्ता अभियान सुरु गरेका हुन् । कार्यक्रममा उनले युवा तथा महिलाहरूलाई स्वरोजगार बन्न आग्रह गरे । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत देशभरिका करिब ८१ हजार युवाहरू स्वरोजगार भएको उनले जानकारी दिए ।
यस्तै उद्यमीहरूले स्वरोजगार कोषले कर्जामा समेत ब्याज अनुदान दिएको भन्दै खुसी व्यक्त गरेका थिए । उनीहरूले यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाई युवाहरूलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्न समेत अपिल गरेका थिए । युवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा रहेका ७२ वटा सहकारी र २६ वटा बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा ३६ करोड ५१ लाख बढी रकम लगानी गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए । कोषले बाँकेका तीन हजार व्यक्तिलाई स्वरोजगार हुन मदत गरिरहेको छ ।