काठमाडौं । नगर विकास कोषको खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिकामा ‘डिप बोरिङ तथा रिजर्भायर ट्यांकी’ आयोजनाका लागि ऋण सम्झौता भएको छ ।
उक्त आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि मंगलबार धनकुटा नगरपालिकाप्रमुख चिन्तन तामाङ र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाबीच तीन करोड आठ लाख ५६ हजार रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर भएको हो । आयोजना निर्माणको कुल अनुमानित लागत अङ्क तीन करोड ४२ लाख ८५ हजारको ९० प्रतिशत रकम कोषको तर्फबाट ऋण र १० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने बताइएको छ ।
ऋण सम्झौता कार्यक्रममा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापा, प्रशासन, योजना तथा अनुगमन अधिकृत सीताराम र आर्थिक विकास अधिकृत विकास अधिकारीको पनि उपस्थिति रहेको थियो । हाल सञ्चालनमा रहेको धनकुटा खानेपानी तथा सरसफाइ आयोजनाको सेवा प्रवाहमा सुधार गर्ने उद्देश्यले धनकुटा नगरपालिकाको वडा नं १, ३, ४ र ६ मा डिप बोरिङ र वडा नं १ मा रिजर्भायर ट्यांकीको निर्माण तथा व्यवस्थापनका लागि नगरपालिकाबाट कोषको ऋणस्वरूप स्रोत व्यवस्थापन गरिएको छ भने कोषको यस वित्तीय सहयोगबाट आयोजनाको सेवा प्रवाहमा सुधार भई कोषको ऋण असुलीमा समेत सकरात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख तामाङले धनकुटा खानेपानी तथा सरसफाइ आयोजनालाई दिगोरूपमा सञ्चालन गराउने नगरपालिकाको समेत जिम्मेवारी भएकोले नगरपालिकाले डिप बोरिङका सम्बन्धमा विस्तृत अध्ययनसहित आयोजनालाई अगाडि बढाइएको जानकारी दिए । आयोजना समयमा गुणस्तरीयरूपमा सम्पन्न भई सम्बन्धित आयोजना क्षेत्रका उपभोक्ताहरूलाई सहज ढंगबाट खानेपानी सेवा प्रवाह हुने उनको भनाइ छ ।
कोषका कार्यकारी निर्देशक सापकोटाले नगरपालिकाले आयोजना निर्माणको क्रममा प्राविधिकलगायतका पक्षहरूमा ध्यान दिनुपर्ने कुरामा जोड दिँदै आयोजनाको दिगो सञ्चालन र व्यवस्थापनका लागि नगर विकास कोषबाट निरन्तर प्राविधिक तथा व्यवस्थापकीय सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।