लण्डन । संयुक्त अधिराज्य बेलायतले पहिलो रुसी विलासी पानी जहाज (सुपरयाट) जफत गरेको छ । रुसमाथि प्रतिबन्ध लगाएको बेलायतले फि नामक सुपरयाट जफत गरेको हो ।
यसको मूल्य तीन करोड ८० लाख पाउन्ड स्टर्लिङ रहेको बताइएको छ । रुसी व्यवसायीको भने पनि ठ्याक्कै कसको सुपरयाट हो भन्ने खुल्न सकेको छैन । बेलायती यातायात सचिव ग्रान्ट शाप्सले ती व्यक्तिमाथि प्रतिबन्ध नलगाइएको भए पनि रुसी राष्ट्रपतिसँग उनको नजिकको सम्बन्ध रहेको बताएका छन् ।
युक्रेनमाथिको आक्रमणलाई लिएर बेलायतले विभिन्नखाले प्रतिबन्ध लगाएको छ । यो सुपरयाट ५८.५ मिटर लामो छ भने १३ मार्चमा मात्रै यो रुसी स्वामित्वको रहेको खुलेको थियो । तर यसको स्वामित्वकर्ताबारे नखुलेको बेलायत सरकारले जनाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । यो सुपरयाट क्यारेबियन टापु सेन्ट किट्स र नेभिसमा दर्ता भएको खुलेको छ । यसले माल्टाको झण्डा फहराएर आफ्नो उत्पत्तिबारेको जानकारी गुप्त राखेको बताइएको छ । सरकारले नै यसको मालिकबारे खुलाउन नमानेको बताइएको छ ।
यो सुपरयाट नेदरल्यान्ड्समा बनाइएको थियो । गत वर्ष यसले यात्रा थालेको थियो । एक अवार्ड कार्यक्रममा आएका बेला बेलायतले यसलाई नियन्त्रणमा लिएको उल्लेख गरिएको छ ।