सुबास बस्नेत
दोलखा, माघ २९
दोलखाको सदरमुकाम चरीकोटदेखि करिब ३० किलोमिटर दूरीको उत्तरी दुर्गम क्षेत्रमा रहेको खारे माध्यमिक विद्यालयले छोटो समयमा विद्यालयको शैक्षिक सुधार गर्न सफल भएको छ । दुर्गम भेगमा रहेको एउटा सिङ्गो गाउँलाई समेटेर निर्माण भएको उक्त विद्यालयले तीन वर्षअघिसम्म एसईईमा प्राय निल जाने गरेको थियो ।
गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खारेमा रहेको खारे माध्यमिक विद्यालयको शैक्षिक अवस्था खस्कँदै गएपछि सो भेगका अभिभावक चिन्तित र विद्यालयप्रति आक्रोशित थिए । दुई वर्ष पहिले सितापाइला मावि जफेका शिक्षक नरेन्द्र महतको प्रधानाध्यपकको रूपमा खारे माध्यमिक विद्यालय सरुवा भयो । विद्यालयको शैक्षिकस्तर शून्य, विद्यालयका भौतिक संरचना भताभुङ्ग, अनुशासनविहीन विद्यार्थी देखेर सुरुमा महतलाई दिक्क लाग्यो । विद्यालयमा हाजिर भएपछि उनले अभिभावक भेला गरे र विद्यालयको शैक्षिक सुधार गर्न अभिभावक, शिक्षकसँग छलफल चलाए । विद्यालयमा विभिन्न नियम बनाए । विद्यालयको शैक्षिक सुधारसगै भौतिक संरचना निर्माण गर्ने अठोट लिए ।
विद्यालयको पठनपाठनमा कडाइ गर्न थाले पनि सधैँ निल जाने विद्यालयले २०७४ को एसईई परीक्षामा धेरै विद्यार्थीलाई एसईई परीक्षामा पास गराउन सफल भयो । गत वर्षको एसईई परीक्षामा जिल्लाकै उत्कृष्ट १० विद्यालयमा आफ्नो विद्यालय पर्न सफल भएको प्रअ महतले बताए । अहिले उक्त विद्यालय गौरीशंकर गाउँपालिकाभित्रकै उत्कृष्ट विद्यालय घोषण भएको छ । शैक्षिक पाटोमा क्रमशः सुधार हुँदै आएपछि विद्यालयको भौतिक सुधार गर्नतर्फ लागेको प्रअ महतले बताए ।
जिल्ला आयोजना कार्यान्वयन इकाइको करिब साढे दुई करोड बजेटमा चारवटा विद्यालय भवन निर्माण भएका छन् । विद्यालय भवन निर्माणसगै एक सय ९० जना विद्यार्थीको लागि पठनपाठनमा सहजता आएको छ । १५ लाख अनुदानमा पक्की शौचालयको पनि निर्माण भइरहेको उनले बताए । महत सो विद्यालयमा प्रअ भएर आएपछि विद्यालयको मुहार नै फेरिएको स्थानीय सायर विकले बताए । सायरका अनुसार विगत वर्षको एसएलसी तथा एसईई परीक्षामा शून्य नतिजा ल्याउने विद्यालयले गत बर्ष तीन दशमलव ४५ जीपीए नतिजा ल्याएर पालिकाभित्रकै उत्कृष्ट सम्मान थाप्न सफल भएको छ ।
विद्यालयले अहिले विद्यार्थीलाई होस्टेल राखेर तीन समयमा कक्षा सञ्चालन गरिरहेको छ । विद्यालयले अभिभावकको मागअनुसार रात्री कक्षा, दिवा कक्षा र बिहानको कक्षा गरी तीन समय अध्यापन गराइरहेको विद्यालयले जनाएको छ । विद्यालयमा हाल ५ थान कम्प्युटर, डिजिटल सूचना बोर्ड, सीसीटीभीलगायत सम्पूर्ण विज्ञान प्रयोगशालाहरू राखिएका छन् ।