काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेसनल बैंकिङ इन्स्टिच्युटमा (एनबीआई)मा सञ्चालन भइरहेको नेपाल राष्ट्र बैंकका नवप्रवेशी सहायक निर्देशकहरूको पूर्वसेवाकालीन तालिमको उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंकको काम कारबाही तथा उद्देश्यहरूमाथि प्रकाश पार्दै प्रशिक्षार्थीहरूलाई काममा समर्पित भएर लाग्न प्रेरणा दिए ।
राष्ट्र बैंकको भूमिका देशको अर्थतन्त्रमा गहन भएको कुरा जनाउँदै सम्पूर्ण प्रशिक्षार्थीहरूलाई इमान्दार एवं लगनशील भएर काम गर्न सुझाव दिए । सूचना नै शक्ति भएको बताउँदै आफूलाई निरन्तर अद्यावधिक बनाउनुपर्ने आवश्यकता रहेको बताए । प्रशिक्षण कार्यक्रम २०७८ चैत १० गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा एनबीआईका पूर्वसञ्चालक तुलसी प्रसाद घिमिरेले स्वागत मन्तव्य दिएका थिए । यसैगरी एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले पनि मन्तव्य राख्दै अध्ययनलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको औँल्याए ।