काठमाडौं । दरबार हत्याकाण्डबाट वंशनाश भएपछि नेपाल ट्रस्टमा जानुपर्ने होटल डेला अन्नपूर्णको स्वामित्व जालसाजी गरेर दरबारले नै पालेर हुर्काएको व्यक्ति कपिल राणाको नाममा राखेपछि ‘लुटको धन फुपूको श्राद्ध’ भनेजसरी कपिलकी श्रीमती सिर्जना राणाले दुरुपयोग गरिरहेको होटलमा मिलिजुली जय नेपाल गर्दै हसुर्दै आएका होटल मजदुरहरु गत बुधबार श्रम कार्यालय परिसरमा चिउरा पानीको भरमा धर्ना दिन बाध्य भएका छन् ।

होटल संघको अध्यक्ष समेत रहेकी राणाले कोभिड १९ को बहानामा बन्द गरेको होटल अन्नपूर्ण सबै प्रतिबन्ध हटिसक्दा पनि नखोलेर बन्द नै राखेपछि होटल खोल्न माग गर्दै मजदुरहरु श्रम कार्यालयमा धर्ना दिनपुुगेका छन् । कोभिड १९ का कारण होटल बन्द भएपछि नेपाल राष्ट्र बैंकको अधिकारीहरुको सिफारिसमा कोभिड १९ बाट पीडित भएको भनी सहुलियत ब्याजमा करोडौँ रुपैयाँ कर्जा लिएर आफ्नो व्यक्तिगत प्रयोजनमा खर्च गरेर अरु सबै होटल व्यवसाय खुलिसक्दा पनि अन्नपूर्ण नखुलेपछि त्यही कार्यरत मजदुर सुरज गौतमले होटल खुलाई काम गर्ने मौका दिलाई दिन माग गर्दै श्रम कार्यालयमा हालेको उजुरीप्रति ऐक्यबद्धता जनाउन पुगेका मजदुरले टन्टलापुर घाममा भोक र प्यासले प्याक प्याक भएपछि चिउरा पानी ज्युनार गरेका हुन् ।
आफूलाई क्रान्तिकारी देखाउन सस्तो लोकप्रियताका लागि प्रचारबाजी गर्दै आएका पूर्वम्यानपावर व्यवसायी समेत रहेका श्रममन्त्री कृष्ण कुमार (किसान) श्रेष्ठले नेपालको पुरानो पाँचतारे होटल अन्नपूर्णले आफ्ना कामदारप्रति गरेको ज्यादतीको बारेमा खासै चासो दिएका छैनन् । यही मौका छोपेर होटलकी कार्यकारी निर्देशक राणाले होटलका पुराना र बहुमूल्य सामानहरु रातारात बिक्री गरिसकेकी छिन् । सृजना राणाले होटल नखोलेर रोजीरोटी बन्द गरिदिएपछि घर परिवार चलाउन धौ–धौ परेपछि गौतमको निवेदनमा ऐक्यबद्धता जनाउँदै धर्ना दिन बुधबार श्रम कार्यालय पुगेका हुुन् ।