चीन । दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४० हजारभन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन सुरक्षा कार्यालयका प्रमुख झु ताओले भग्नावशेषका अधिकांश टुक्राहरू क्रमबद्ध र थप परीक्षणका लागि भण्डारण स्थलमा सारिएको बताए ।
करिब एक करोड वर्गमिटर वरिपरि खोजीकार्य जारी राखिएको थियो । खोज तथा उद्धार कार्यमा दुई सय १६ दमकल र १६ वटा ड्रोनलगायतका उपकरण प्रयोग गरिएको थियो । कुनमिङबाट ग्वाङ्झाउका लागि उडेको बोइङ ७३७ विमान दिउँसो २ः३८ बजे गुआङ्सीको टेङ्सिआन काउन्टीको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।
मार्च २१ मा एक सय २३ यात्रु र नौ चालक दलका सदस्यहरूसहित जहाजमा रहेका सबै एक सय ३२ जनाको मृत्यु भएको थियो ।