काठमाडौं । नेपालमा भारतीय लगानी बढाउन र भारततर्पmकोे निर्यात सहजीकरणका लागि सरकार र निजी क्षेत्र दुवैले भारतसँग आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा शनिबार भारतको नयाँ दिल्लीमा कन्फिडरेसन अफ इन्डियन इन्डिस्ट्रिज (सीआईआई)ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानीको वातावरण सहज बनाउन आफू सधैँ तयार रहेको वताए ।
कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउँदै उनले त्यसका लागि वातावरण बनाउन सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता समेत जनाएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएको सम्झौताले विद्युत् आदान प्रदान र रेलसेवा सञ्चालनमा सहयोग पुग्ने उनको भनाइ थियो । सीआईआई भारतमा महासंघको साझेदार संस्था हो ।
कार्यक्रममा महासंघ अध्यक्ष शेखर गोल्छाले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए । ‘पछिल्ला वर्षहरूमा भारतीय लगानी घटिरहेको छ’, उनले भने, ‘यसलाई बढाउन निजी क्षेत्रको के–कस्तो सहयोग चाहिन्छ हामी गर्न तयार छौँ ।’ सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्ष समेत स्थापना भएको उनले जानकारी गराए ।
साथै उनले नेपालमा पर्यटन क्षेत्रमा पनि सम्भावना बढदै गएको बताए । ‘पहिले घुम्न आउनुहोस्, त्यसपछि लगानी गर्नुहोस्, अनि आम्दानी पनि गर्नुहोस्’, उनले भने । अबको दुई वर्षमा अहिलेको पर्यटन पूर्वाधारले नपुग्ने र सरकारी नीतिका कारण यस क्षेत्रमा लगानी सहज भएको पनि उनले बताए । नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेको पनि उनले जानकारी गराएका थिए । नेपाल भारतका लागि नवौँ ठूलो निर्यात गन्तव्य भएको सन्दर्भ प्रस्तुत गर्दै अध्यक्ष गोल्छाले नेपालले पनि भारतमा निर्यात बढाउन खोजिरहेको बताए । ‘नेपालको भारततर्फ र तेस्रो मुलुकको निर्यातमा भारतले सहजीकरण गरिदिनुपर्छ’, उनले भने । यस्तै उनले नाकामा पूर्वाधार सुधार र गैरभन्सार अवरोध हटाउनुपर्नेमा जोड दिए । कृषिजन्य उत्पादनको निर्यातका लागि समान गुणस्तरको ल्याब स्थापना गरी एक–अर्काको देशमा मान्यता दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सीआईआईका अध्यक्ष टीभी नरेन्द्रमले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताए । सीआईआईको ऊर्जा संयन्त्र नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उनले जानकारी दिए । कृषिजन्य वस्तुको निर्यातमा गुणस्तरीय कायम गर्न पनि भारतले सहयोग गर्न सक्ने उनको भनाइ थियो । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले नेपाल भारतबीचको संयुक्त व्यावसायिक फोरमको बारेमा जानकारी गराएकी थिइन् । दुई देशका उद्यमी व्यवसायीको फोरमको नेतृत्व निवर्तमान अध्यक्ष राणाले गरेकी छिन् । कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीका लागि भइरहेको प्रयासबारे जानकारी गराएका थिए ।
कार्यक्रममा करिब ३० वटा भारतीय बहुराष्ट्रिय कम्पनीको सहभागिता थियो । करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको सम्भावनाबारे चासो र अनुभव आदानप्रदान गरेका थिए । यसअघि, महासंघ र सीआईआईका पदाधिकारीहरूबीच द्विपक्षीय छलफल भएको थियो । जसमा दुई संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल भारत लगानी एवं व्यापार सहजीकरणका विषयमा छलफल भएको थियो ।
छलफलमा प्रतिनिधिमण्डलको नेतृत्व महासंघका अध्यक्ष गोल्छा र सीआईआई प्रतिनिधिमण्डलको नेतृत्व अध्यक्ष नरेन्द्रमले गरेका थिए । सीआईआई अध्यक्ष नरेन्द्रमले नेपालमा लगानी सम्मेलन आयोजना गर्न र भारतका विभिन्न सहरहरूमा रोड सो आयोजना गर्न सहकार्य गर्ने बताए । सीआईआईका महानिर्देशक चन्द्रजीत वनर्जीले महासंघ सचिवालयको क्षमता विकासमा पनि सहकार्य गर्न सकिने उल्लेख गरेका थिए ।
छलफलमा अध्यक्ष गोल्छासहित निवर्तमान अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष एवं विशिष्ठ सदस्य पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू अन्जन श्रेष्ठ, रामचन्द्र संघाई तथा कार्यसमिति सदस्यहरू हेमराज ढकाल, भरतराज आचार्य, विजय वैद्य, आनन्द वगारिया, प्रकाश सिंह कार्की, अम्बिका पौडेल, जम्शेर अलि मियाको सहभागिता थियो । छलफलमा निवर्तमान अध्यक्ष राणा, बरिष्ठ उपाध्यक्ष ढकालले आ–आफ्नो धारणा राखेका थिए ।