काठमाडौं । राष्ट्रिय सहकारी महासंघद्वारा स्थापित राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट वरिष्ठ सहकारी अभियन्ता विजयराज घिमिरेलाई सम्मान गरिने भएको छ । राष्ट्रिय सहकारी महासंघले ६५औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा विभिन्न विधामा पुरस्कार दिने घोषणा गरेको हो । महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सो पुरस्कार प्रदान गर्ने जनाएको छ ।
यस्तै उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०७८ बाट जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरका व्यवस्थापक बालकृष्ण ध्वजु पुरस्कृत हुने भएका छन् भने उत्कृष्ट सहकारी पुरस्कार २०७८ बाट जिल्ला सहकारी संघ लि. दोलखा पुरस्कृत हुने भएको छ । पुरस्कार छनोट उपसमितिका संयोजक तथा महासंघका सञ्चालक टेकप्रसाद चौलागाईले पुरस्कृत हुने व्यक्तित्व तथा संघ/संस्थाको नाम घोषणा गरेका थिए । महासंघले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, २०७८ बाट सातवटै प्रदेशका उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।
प्रदेश नं. १ बाट मेची बहुउद्देश्यीय सहकारी संस्था लि. दमक झापा, मधेश प्रदेशबाट बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि., निजगढी बारा, बागमती प्रदेशबाट हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. तिनकुने, काठमाडौं, गण्डकी प्रदेशबाट कालिगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. पैंयुपाटा, बागलुङ, लुम्बिनी प्रदेशबाट सिको बचत तथा ऋण सहकारी संस्था लि. ठाकुरबाबा, बर्दिया, कर्णाली प्रदेशबाट जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशबाट एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि. गोदावारी, कैलाली पुरस्कृत हुने भएका छन् ।