विराटनगर । पछिल्लो समय तस्करहरूले भन्सार नाकाभन्दा बाहिरको ठाउँबाट सामान ओसारपसार गरी सीमाक्षेत्र नजिकैको गोदाममा थुपार्ने क्रम बढ्न थालेपछि राजस्व अनुसन्धान कार्यालय सुनसरीले प्रदेश १ मा स्ट्रिङ अपरेसन सुरु गरेको छ ।
राजस्व अनुसन्धान सुनसरी र राजस्व अनुसन्धान विभागको संयुक्त टोलीले सुनसरी, मोरङ, झापा र सप्तरी जिल्लाका सीमा नाकामा तस्करहरूले गोदाम भाडामा लिई सामान स्टोर गर्ने क्रम व्यापक बढेको भन्दै स्ट्रिङ अपरेसन सुरु गरेको हो । सोही क्रममा झापा जिल्लाको विर्तामोड बजारमा रहेको एउटा कपडा पसलमा राजस्वको टोलीले छापा मारेको थियो । तर छापा मार्ने क्रममा स्थानीय व्यवसायीदेखि उद्योग वाणिज्य महासंघका जिम्मेवार व्यक्ति नै सडकमा उत्रिएर आन्दोलन गरेका थिए । उनीहरूको आन्दोलनले पनि ठूला घरानाका व्यवसायी नै तस्करीमा संलग्न हुनेगरेको बुझ्न सकिने स्थानीय बताउँछन् ।
संयुक्त टोलीले सुनसरीको धरान बजारबाट करोडौँ मूल्यबराबरको करिब ६० बोरा चिनीसहितको गोदाम यसै हप्ता सिलबन्दी गरी अनुसन्धान गरिरहेको छ । त्यसैगरी झापा जिल्लाको विर्तामोड बजारमा रहेको एक कपडा पसलमा छापा मारी करोडौँ मूल्यबराबरको कपडा बरामद गरी अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान सुनसरीका प्रमुख अनुसन्धान अधिकृत तिर्थराज खनालले जानकारी दिए ।
राजस्व अनुसन्धान सुनसरीले तस्करी नियन्त्रण गर्न भीसीटीएस प्रणाली लागू गरे पनि कतिपय व्यवसायीले कारोबार गर्दा सो प्रणालीमा आबद्ध नगरी कारोबार गरिरहेको आधारसम्म प्रमाणका रूपमा सुनसरी राजस्वले फेला पारेको प्रमुख अनुसन्धान अधिकृत खनालले बताए । सो प्रणालीमा आबद्ध नहुनेहरूलाई पनि कारबाही गर्ने चेतावनी कार्यालयले दिइसकेको उनको भनाइ छ । तस्करहरूले सामान ल्याएर सीमावर्ती क्षेत्रका घरमा गोदाम बनाएर राखेको सूचना राजस्व अनुसन्धान कार्यालय र विभाग आउन थालेपछि स्ट्रिङ अपरेसनसलाई आक्रामक बनाएको हो । तस्करीले जिल्लाका गोदाममा जम्मा गरिएका सामान त्यही जिल्लाबाट सशस्त्र प्रहरीको सेटिङमै विभिन्न ठाउँमा पठाउने गरिएको राजस्वस्रोतले दाबी समेत गरेको छ । तस्करसँग सशस्त्र प्रहरीको सेटिङ भएकै कारण झापा जिल्लामा रहेको व्यावसायिक प्रतिष्ठानमा राजस्वले छापा मार्दा उद्योग वाणिज्य माहासंघको टोलीले नै नेतृत्व गरेर सडकमा आन्दोलन मच्चाएको राजस्व स्रोतको भनाइ छ ।
स्रोतका अनुसार सीमा नाकामा गोप्यरूपमा खोलिएका गोदाममा राजस्व छली गरी करोडौँ मूल्यका कपडा, डडी, सिमेन्ट, खाद्यन्न, चिनी, हार्डवेयरसम्मका सामान रहेका छन् । यस्ता वस्तुको तस्करी हुँदा भन्सार गस्तीदेखि तस्करी नियन्त्रणसम्मको जिम्मेवारी पाएको सशस्त्र प्रहरीको बीओपी मुखदर्शक बनेको छ ।