काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले देशैभरि वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरी ग्लोबल मनी वीक भव्यरूपमा सम्पन्न गरेको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिहरूमा वित्तीय सेवाको पहुँच पु-याउने र हरेका वर्ग र क्षेत्रका मानिसहरूलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
ग्लोबल मनी वीक २०२२ को थिम ‘बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनी’ र ग्लोबल मनी वीक को स्थायी नारा ‘लर्न सेभ अर्न’लाई सार्थक बनाउने प्रयास स्वरूप बैंकले वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ । बैंकका सातवटै प्रदेशअन्तर्गतका शाखाहरूले विद्यार्थी, महिला, किसान, उद्यमीलगायत समाजका विभिन्न वर्गका व्यक्तिहरू लाभान्वित हुनेगरी विभिन्न प्रकृतिका वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ ।
बागमती प्रदेशअन्तर्गत १७, लुम्विनी प्रदेशअन्तर्गत २५, प्रदेश नं १ अन्तर्गत २३, मधेश प्रदेशअन्तर्गत १९, सुदूरपश्चिम र कर्णाली प्रदेशअन्तर्गत तीनवटा शाखाहरूमा गरी कुल ८७ वटा स्थानमा उक्त कार्यक्रमहरू सञ्चालन गरिएको र ती कार्यक्रमहरूमा करिब पाँच हजार सहभागी रहेका थिए । नेपाल बैंकले यस आर्थिक वर्षको योजना तथा कार्यक्रममा नै वित्तीय साक्षरतालाई विशेष जोड दिएको र सोहीअनुरूप वित्तीय साक्षरता अभियान यो वर्षभरि नै सञ्चालन हुने बैंकले जनाएको छ । हालसम्म बैंकले आफ्ना एक सय ६० शाखाहरूबाट करिब १५ हजार सहभागीहरूलाई वित्तीय साक्षरता प्रदान गरिसकेको जानकारी दिएको छ ।