काठमाडौं, माघ २९
सिद्धार्थ बैंक लिमिटेडले कैलालीको लम्कीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोमा यही माघ २६ गते उक्त क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा साना तथा मझौला व्यापारीहरूलाई विशेषगरी बैंकिङ कर्जासम्बन्धी जानकारी जस्तैः व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यवस्थापन, व्यापार विस्तार, बैंकिङ प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका ३५ भन्दा बढी साना तथा मझौला व्यापारीहरू सहभागी भएका थिए । देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरूलाई प्रोत्साहन, सचेतना र सशक्तीकरण गर्ने उद्देश्यले आगामी दिनहरूमा पनि बैंकले यस किसिमका वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताएको छ ।
बैंकले हाल देशभर एक सय ८० वटा शाखा (तीनवटा एक्सटेन्सन काउन्टरसहित), एक सय शाखारहित बैंकिङ सेवा, दुुई सय तीन वटा एटीएम र १६ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।