काठमाडौं । बैंकिङ क्षेत्रमा निक्षेप खाताको संख्या चार करोड १७ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरुमा रहेका कुल निक्षेप खाताको संख्या चार करोड १७ लाख ४२ हजार नौ सय ७९ पुगेको छ । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने छ हजार एक सय ९० वटा पुगेको छ । जसअनुसार वाणिज्य बैंकहरुको चार हजार आठ सय ६७, विकास बैंकहरुको एक हजार ७२ र फाइनान्स कम्पनीहरुको दुई सय ५१ वटा शाखाहरु सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका कुल निक्षेप खातामध्ये वाणिज्य बैंकहरुमा मात्र तीन करोड ६२ लाख १९ हजार तीन सय ६२ वटा खाताहरु सञ्चालनमा छन् । यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीहरुमा सञ्चालनमा रहेको निक्षेप खाताको संख्या भने क्रमशः ४९ लाख ४१ हजार २६ र पाँच लाख ८२ हजार पाँच सय ९१ रहेको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा सञ्चालनमा रहेका कुल कर्जा खाताको संख्या भने १८ लाख सात हजार सात सय ५२ वटा पुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुमा मात्र रहेको कुल कर्जा खाता संख्या १४ लाख ५८ हजार सात सय ५१ रहेको छ । यीबाहेक विकास बैंंक र फाइनान्स कम्पनीहरुमा सञ्चालनमा रहेको कर्जा खाताहरुको संख्या भने क्रमशः तीन लाख नौ हजार एक सय ७५ र ३९ हजार आठ सय २६ वटा रहेको छ ।
सोही निक्षेप एवं कर्जा खाताको आधारमा चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ४८ खर्ब ७७ अर्ब ५१ करोड ९० लाख र ४६ खर्ब ९० अर्ब ४८ करोड ८० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । सोमध्ये वाणिज्य बैंकहरुको मात्र कुल निक्षेप तथा कर्जा रकम क्रमशः ४३ खर्ब ११ अर्ब २९ करोड २० लाख र ४१ खर्ब ६३ अर्ब ३० करोड ४० लाख रुपैयाँ रहेको छ । विकास बैंकहरुको कुल तथा कर्जा रकम भने सो अवधिमा क्रमशः चार खर्ब ७२ अर्ब २१ करोड ३० लाख र चार खर्ब ३९ अर्ब १० करोड ४० लाख रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुको निक्षेप रकम भने चालू आवको माघ मसान्तसम्ममा ९४ अर्ब एक करोड ३० लाख रुपैंयाँ पुगेको छ । यस अवधिमा फाइनान्सहरुले ८८ अर्ब करोड रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको भनाइ छ ।