काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले स्वदेशमा उत्पादित विद्युत्को बिक्रीवितरण तथा निर्यातको काम निजी क्षेत्रलाई दिन माग गरेको छ । इपान अध्यक्ष कृष्णप्रसाद आचार्यले ऊर्जामन्त्री पम्फा भुसाललाई विद्युत् खरिदबिक्री सम्झौता नरोक्न आग्रह गरे ।
राजधानीको भृकुटीमण्डपमा शनिबारदेखि सुरु भएको तेस्रोे संस्करणको हिमालयन हाइड्रो एक्स्पोको समापन सत्रमा उनले विद्युत् खरिदबिक्रीको काम सरकार तथा विद्युत् प्राधिकरणले गर्न नसक्ने भए निजी क्षेत्रलाई काम गर्ने बाटो खुलाइदिन माग गरेका हुन् । ‘हामीले विद्युत् व्यापार गर्ने इजाजत पाएको खण्डमा हामी आफैँ पीपीए गर्छौँ’, उनले भने, ‘यसो भएको खण्डमा विद्युत् प्राधिकरणको आधाभन्दा धेरै समस्या समाधान हुन्छ ।’ साथै उनले जलविद्युत्का प्रवद्र्धक तथा उत्पादकहरूले काम गर्दा धेरै निकाय धाउनुपर्ने समस्या रहेकोतर्फ ऊर्जामन्त्री पम्फा भुषालको ध्यानाकर्षण गराएका थिए । ‘अहिले कुनै पनि परियोजना सुरु गर्दा सात मन्त्रालय २२ विभाग दुई सयवटा टेबलमा पुग्नु पर्छ’, उनले भने, ‘त्योसँगै स्थानीयस्तरमा समेत विभिन्न खालका उल्झनहरू छन् । त्यसका लागि सरकारले जलविद्युत् क्षेत्रलाई एकद्वार प्रणाली बनाउन आवश्यक छ ।’ सरकारले भनेका हरेक कुराहरू मान्न ऊर्जा व्यवसायीहरू तयार रहेको बताउँदै उनले प्रतिफलको सुनिश्चिततामा पनि जोड दिए ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जलशाययुक्त आयोजनामा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेकी थिइन् । उनले निजी क्षेत्र नदी प्रवाह (आरओआर)मा आधारित जलविद्युत््को उत्पादनभन्दा पनि ठूला जलाशययुक्त आयोजना निर्माणमा जुट्नुपर्नेमा जोड दिइन् । उनका अनुसार हालसम्म निजी क्षेत्रले जलाशययुक्त आयोजनामा लगानी गरेको छैन । ‘नदी प्रवाहमा आधारित उत्पादनको विद्युत्् खरिद सम्झौता हुँदैन, अब निजी क्षेत्रले पनि जलाशययुक्त आयोजनामा लगानी बढाउनेतर्फ ध्यान दिनुपर्छ’, उनले भनिन् ।
नेपाल विद्युत् प्राधिकरणले पछिल्ला तीन वर्षदेखि नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता गर्न रोकेको छ । सुख्खायाममा हुने विद्युत्को व्यवस्थापनलाई सहज बनाउन सरकारले पनि ठूला जलाशाययुक्त आयोजनाको निर्माणलाई प्राथमिकतामा राखेको छ । सरकारले दुधकोशी, बूढीगण्डकी, नलगाढ र पश्चिम सेतीजस्ता जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेको मन्त्री भुसालको भनाइ छ । ठूला आयोजनाको निर्माणलाई तीव्रता दिन सरकारले त्यस्ता आयोजनाबाट उत्पादित बिजुली खरिदको अनुमति विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले दिनसक्ने व्यवस्था गरिएको उनले जानकारी दिइन् ।
यस्तै उनले विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न तथा खेर जाने पानीलाई विद्युत्मा रूपान्तरण गरेर क्षेत्रीय बजारमा बिक्री गरी मुलुकको आर्थिक रूपान्तरण गर्न वैदेशिक लगानी पनि भित्र्याउने तयारी भइरहेको बताइन् । प्रधानमन्त्री शेरबहादुर देउवाको हालै सम्पन्न भारत भ्रमणबाट भारतमा नेपालका बिजुली बिक्री गर्नका लागि सम्झौता भएको जानकारी दिँदै उनले बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) सम्मिलित उपक्षेत्रीय संयन्त्रमार्फत बंगलादेशमा पनि विद्युत् व्यापारको ढोका खुल्ने विश्वास दिलाइन् ।
कार्यक्रममा मन्त्री भुसालले निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको अनुमति दिन सरकार तयार रहेको बताइन् । विद्युत् ऐनमा निजी क्षेत्रले विद्युत् व्यापार गर्ने प्रावधान नभएको र कार्यविधि बनाएर निजी क्षेत्रलाई अनुमति दिन नसकिने भनी कानुन मन्त्रालयबाट राय प्राप्त भएको जानकारी गराउँदै उनले अध्यादेशमार्फत ऐन संशोधन गरेर भए पनि निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिइने उल्लेख गरिन् । कार्यक्रममा इपानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले आयोजना निर्माणमा जग्गा प्राप्तिका समस्या, वनको रुख कटान, खरिद सम्झौतालयायत समस्या समाधान हुन नसकेको गुनासो गरेका थिए ।
इपान र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा भएको एक्स्पो सोमबार सकिएको हो । एक्स्पोमा विशेष गरी जलविद्युत्सँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनहरू प्रदर्शनीमा राखिएका थिए । जलविद्युत्सँग सरोकार राख्ने तथा दैनिक प्रयोगका विद्यतीय सामग्री खरिद गर्नेहरूको एक्स्पोमा उत्साहजन सहभागिता रहेको थियो । साथै भर्चुअल माध्यमबाट एक्स्पोको अवलोकन गर्ने तथा विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनेहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो । रोबो कम्पिटिसन, जलविद्युत्सँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनी एक्स्पोका थप आर्कषण रहेका थिए । त्यस्तै, एक्स्पोमा जलविद्युत् प्रवर्द्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा बीमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहेको थियो ।
एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ज्ञान र सूचना प्राप्त हुने अपेक्षा लिइएको छ । एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रो पावरसम्बन्धी विषयगत छवटाभन्दा बढी प्राविधिक सेसन तथा अन्तरक्रिया समेत सञ्चालन गरिएको थियो । विद्युत् उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एन्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिस्पर्धा र जलविद्युत् क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र रहेका थिए ।
एक्स्पोमा जलविद्युत् आयोजना निर्माता, जलविद्युत्मा प्रयोग हुने उपकरणहरूका उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकर वित्त कम्पनीहरूलगायत सयवटाभन्दा बढी स्टल रहेका थिए । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक्स्पोको उदघाटन गरेकी थिइन् । एक्स्पोले मुलुकको ऊर्जाक्षेत्रको विकास तथा विस्तारका लागि थप ऊर्जा प्रदान गरेको आयोजक तथा सहभागीको विश्वास छ ।