काठमाडौं । कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ । बैंकले सोमबारबाट औपचारिकरूपमा क्रेडिट कार्ड सेवा सुचारु गरी क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक हुन सफल भएकोे जानकारी दिएको छ ।
बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्तरूपमा क्रेडिट कार्ड सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतलगायत बैंकका अन्य कर्मचारीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । विकास बैंकहरूको माझ नयाँ खालको प्रोडक्टहरू ल्याई ग्राहकहरूको चाहना र आवश्यकताहरू पूरा गर्दै अगाडि बढेको हुँदा नै कामना सेवा उत्कृष्टमध्ये एक विकास बैंक बनेको बैंकका अध्यक्ष आचार्यले बताए ।
पोइन्ट अफ सेलमार्फत क्रेडिट कार्ड कारोबार गर्दा कारोबार सुरक्षित रहने, भिजा कार्ड स्वीकार्ने एटीएमबाट नगद झिक्न सकिने, भुक्तानी गर्दा न्यूनतम नेपाली रुपैयाँ एक हजार रुपैयाँ अथवा जम्मा डेबिट रकमको १० प्रतिशतसम्म झिक्न सकिने, कार्डबाट वस्तु वा सेवा खरिद कारोबार गर्दा न्यूनतम १५ देखि ४५ दिनसम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सीमा नेपाली रुपैयाँ १५ हजारदेखि पाँच लाखसम्म पाउने र नेपाललगायत भारतमा समेत सजिलै प्रयोग गर्न सकिनेजस्ता विशेषताहरू कामना सेवा विकास बैंकको क्रेडिट कार्डमा उपलब्ध रहेको जानकारी पनि बैंकले दिएको छ ।