काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले २४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले आइतबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आर्थिक वर्ष २०७७–०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरणहरूउपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । सो सभाले २०७८ कात्तिक १० गते सम्पन्न सञ्चालक समितिको पाँच सय १२औँ बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा श्रीमती विजया स्वारलाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई अनुमोदन समेत गरेको छ ।
साधारणसभामा सञ्चालक समितिको सदस्य निर्वाचन गर्ने कार्यक्रम समेत रहेकोमा संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्नेे र सर्वसाधरण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने तीन/तीन जना गरी छ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । सोबमोजिम संस्थापक सेयरधनीहरूको तर्फबाट तुलसीराम अग्रवाल, त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघई निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनीहरूको तर्फबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्य कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।
उक्त सभाले सञ्चालक समितिका निवर्तमान सदस्यद्वय राजेन्द्र प्रसाद अर्याल तथा विनोद कुमार प्याकुरेललाई उनीहरूले बैंकको प्रगतिमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनीहरूको सफल कार्यकालको उच्च मूल्यांकन गरेको छ । साधारणसभा सम्पन्न भएपश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको पाँच सय ३७औँ बैंठकले सञ्चालक तुलसीराम अग्रवाललाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन समेत गरेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५८ शाखा कार्यालयहरू, चार सय ७३ एटीएम, एक सयवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुनपुगेको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेरसमूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १६ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।