काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सोमबार, वीरगञ्जमा २१औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले सेयरधनीहरूलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रतिसेयर शून्य दशमलव ७३ प्रतिशत (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक अर्थात् आठ अर्ब २० करोड ७९ लाख ६६ हजार पाँच सय ४४ रुपैयाँ हुनेछ ।
अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समीक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे । अध्यक्ष संघईले २१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीहरूबीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहककेन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी आगामी दिनहरूमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सभामा कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दिगो एवं भरपर्दो लगानीका क्षेत्रहरूमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताए । त्यसैगरी, सम्पत्ति र दायित्वबीच सन्तुलन कायम गर्न पुँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरूमा दीर्घकालीन पुँजीगत लगानीका लागि ठोस कार्य गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढेको जानकारी गराए ।
सभाबाट आव २०७६–०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरू एवं कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरू सभाद्वारा पारित भएको छ । सभाले संस्थापक सेयरधनीका तर्फबाट २०७८ चैत ७ गते प्रकाशित निर्वाचन कार्यक्रमअनुसार २०७८ चैत १३ गते संस्थापक सञ्चालकमा उम्मेदवारी मनोनयन गरी २०७८ चैत १४ गते अन्तिम नामावली प्रकाशित भएअनुसार निर्विरोध निर्वाचित भएका चार जना सञ्चालकहरूको नाम घोषणा गरिएको छ । सोअनुसार निर्विरोध निर्वाचित हुने संस्थापक सञ्चालकहरूमा गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान रहेका छन् । साधारणसभापश्चात् बसेको सञ्चालक समितिको ३३६औँ बैठकले नवनिर्वाचित सञ्चालक गोविन्द लाल संघईलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ ।
हाल यस कम्पनीको लगानी एक खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष एक खर्ब २४ अर्ब ८४ करोड रुपैयाँ र सेयरधनी कोष नौ अर्ब ६७ करोडभन्दा बढी रहेको छ । कम्पनीमा दुई लाखभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् । हाल कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर दुई सय दुई कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरी ३० लाखभन्दा बढी बीमितहरू रहेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरू समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।