काठमाडौं । इन्द्रचोकमा रहेको आधारभूत बहुउद्देश्यीय सहकारी संस्थाबाट कर्जा लिन खोज्दा सहकारीले कर्जा नै नदिई जालसाजी गरेर चितवनको जग्गा नै आफ्नो नाममा लगेर ऋणी र सम्पत्तिविहीन बनाइदिएपछिको पीडाले प्यारालाइसिस भएकी स्वस्थानी केसीसँग आर्थिक दैनिकका प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । – सम्पादक
म स्वस्थानी केसी । सन् २००४ मा भएको मिस नेपालमा समेत भाग लिएकी थिएँ । म दोलखाको चरीकोटको बोझ भन्ने गाउँमा जन्मिएको हुँ । म गाउँमा निकै अध्ययनशील थिएँ । गाउँमा अष्ट्रेलियाकै नागरिकले भेट्टाएर उसैले हेरविचार गरेको हो । ऊ मैले बनाएको बाबु समेत थियो । जो डाक्टर हुनुहुन्थ्यो । उहाँले नै पाल्नुभएको हो । मिस नेपालमा भाग त लिएँ तर पूरा समय नेपाल बस्न नपाएपछि हङकङ गएँ । अन्तर्वार्ता गरेँ । हङकङमा बिजनेस गर्ने चाहना थियो । जुत्ताको बिजनेस गर्न म त्यहाँ पुगेँ ।
यो ठमेलमा साहुहरुले फ्याक्ट्रीमा सामान पठाउने र विदेश पठाउने काम गर्थे । म विदेशमै बसेको थिएँ पहिले । अष्ट्रेलियामा नै सात वर्ष बसेँ । डाक्टरले नै मलाई अष्ट्रेलियामा नेपालको हस्तकलाको सामग्रीसहितको पसल खोलिदिनुभएको थियो । त्यहीँ पसल चलाएर बसेको हो । त्यो पसल सात वर्ष चलाएँ । मलाई गड फादरले अष्ट्रेलिया लान लाग्नुभएको थियो । विदेश लैजानुभयो । त्यहाँ नै मेरो नेपालीसँग विवाह भयो । उहाँ नै बुबाले दिएको पसल चलाएर बसेको हुँ । तर, मसँग बिहे गरेका व्यक्तिले पनि मलाई धोका दिनुभयो । छोरा पाएपछि त्यहाँ सरकारलाई नै दिएर भाग्नुभयो ।
म बाबु भनेर पाल्न सक्दिनँ भनेर उहाँ सरकारलाई फिर्ता गर्नुभयो । मैले म पाल्नसक्छु भनेर त्यहाँको सरकारसँग झगडामा गएँ । त्यो बच्चा अष्ट्रेलियन हो भनेर मसँग मुद्दा लड्यो । त्यसपछि नेपालको परराष्ट्रदेखि दूतावाससम्म भनेर करिब २/३ करोड खर्च भएपछि त्यो बच्चालाई नेपाल ल्यायौँ । छोरा अहिले पनि छ । यता नेपालमा बाबुआमालाई नाति, छोरीज्वाइँ हराएको चिन्ता भएछ । नेपालकै सामान लिएर गएर अष्ट्रेलियामा पसल थापेको थिएँ ।
म एक्लो मान्छेले त्यहाँको सरकारसँग झगडा गरेको थिएँ । नेपालमै आएर मैले नेपाली हस्तकलाको सामग्री विदेश निर्यातको काम थालेँ । २०१० मा नेपाल आएँ । भूकम्प जानुभन्दा अगाडि आएँ । नेपाल आएपछि धातुको सामग्री ‘सिङिङ बल’को काम गरेँ । यहाँ होटल बनाएँ । हस्तकलाको सामान किनेर विदेशीलाई पठाउने काम गरेँ । एक्सपोर्ट इम्पोर्ट (आयातनिर्यात)को काम गरेँ । त्यसपछि नेपालमा भूकम्प गयो । मैले पनि सकेको सहयोग गरेँ । राहत रकम निक्कै बाँडेँ । १०÷१२ लाख त चन्दा नै दिएँ ।
९÷१० वर्ष मिहिनेत गरेर ५०/६० लाख रुपैयाँ बनाएको थिएँ । एउटा महिलाले त्योभन्दा बढी कति बनाउने हो र ? त्यसपछि चितवनको खैरहनी नगरपालिका ५ मा ९ सय ३ वर्गमिटर अर्थात् एक कठ्ठा जति जग्गा किनेको थिएँ । यही रेष्टुरेन्ट चलाउनका लागि भनेर किनेको हुँ । खासगरी यही जग्गा राखेर ऋण पनि लिन पाइन्छ भनेर सुनेको थिएँ । फाइनान्समा ऋण माग्न खोजिरहेको थिएँ । मैले कमाएकोमध्ये केही सुन पनि थियो ।
३८ वर्षको उमेरमा ५०/६० लाख पैसा र १८ तोला सुन कमाएछु । इन्द्रचोकस्थित अनुसा सुनचाँदी पसलका मालिक कृष्ण रामदाम, श्रीमती शोभा रामदाम, सरोज रामदाम भन्ने भाइ थिए । सोही सुन पसलमा म पनि सुन बनाउन जान्थेँ । मसँग भएको १८ तोला सुन राखेर सोही सुन पसलबाट ६ लाख ७५ हजार रुपैयाँ लिएको थिएँ । ब्याज मासिक एक लाखको दुई हजार रुपैयाँ तिर्नु भनेको थियो । त्यसको ७/८ महिनामा मैले जग्गा किनेको थिएँ ।
मसँग भएको सबै गहना राखेको थिएँ । त्यो सुन पसलमा म ब्याजको हिसाब गर्न गएको थिएँ । पसले रामदामले यो पैसा पूरै तिर्नुस् र तपाईंको सुन फर्काउनुस् भन्ने दबाब दियो । त्यो दबाबपछि मैले मसँग भएको सम्पत्ति त्यही पुर्जा मात्रै थियो । त्यो पुर्जा राखेर ऋण लिनुपर्ला कि भनेर सोचेँ । त्यो पुर्जा कतै राख्न खोजेँ । बैंकले सात महिना हुनुपर्छ भन्ने कुरा गरे । मैले मसँग भएको जग्गाको लालपुर्जाबारे सोही सुन पसलेलाई भनेँ ।
त्यसले आफू बसेको ठाउँबाट माथि अर्को बिल्डिङतिर देखाउँदै ‘माथिको फाइनान्स मेरै हो । त्यो फाइनान्सको कारोबार मैले गर्छु । तपाईंलाई चिनेका छौँ । यो पुर्जा अन्त राख्नुपर्दैन । यो मेरै फाइनान्स हो– आधारभूत बहुउद्देश्यीय सहकारी संस्था’ भनेपछि मैले मेरो श्रीमान पनि हुनुहुन्न । म सल्लाह गरेर भन्छु भनेँ । अलि छिटो गर्न भनेर फोन गरेर दबाब दिन थाल्यो ।
पैसा झिक्ने कि नझिक्ने भन्दै दबाब दिन थाल्यो । त्यत्रो गहना लगेर राखेको छु । यसै पनि म केटी मान्छे । जग्गा बचाउनु कि पैसा झिक्नु भन्नेतिर सोचेँ । सहकारीको साहु को हो मैले चिनेको छैन । तर, जग्गा हेर्न जानेसम्मको कुरा भयो । सुन पसलेले जग्गा हेर्न जाने भनेर गाडी मिलाउनुस् भने ।
आज जग्गा छ भनेर कुरा भयो तीन दिनपछि जग्गा हेर्न जाने कुरा भयो । एकदम छिटो छिटो यो कुरा भएको थियो । यहाँबाट गाडी लिएर सुन पसले र म हिँड्यौँ । तल पुगेपछि एक जना महिला गाडीमा चढिन् । उहाँ पिसाब फेर्न गएको बेला मैले सोँधेँ । उहाँ को हो भनेर ? उहाँ नै हो फाइनानसको साहुनी भनेर सुन पसलेले सुनायो । मेरो जग्गा उहाँकै सहकारीमा राखेर पैसा निकाल्ने हो ? भन्ने मेरो प्रश्नपछि सुन पसले रामदामले हो भने । चितवन पुगेपछि मेरो जग्गा जब उनीहरुले हेरे । उनीहरु दुई जना कानेखुसी गर्न थाले ।
हामी चितवन जानुपर्ने । मलाई लिएर जाने ड्राइभरले ए दिदी तपाईं कस्तो मान्छेहरुसँग आउनुभएको । के कामको लागि कोसँग आएको कुरै नबुझी किन आएको भनेर सोधे । सुन पसले र त्यो दिदीबीच शंकास्पद कुराकानी हुँदै थियो । मैले किन कानेखुसी गरेको भनेपछि तपाईंले मागेको जति ऋण दिन मिल्दैन भन्ने कुरा गर्नुभयो । चितवनमा रात परेपछि उनीहरु सुन पसले र त्यो महिला अन्तै बस्न गएका थिए । मैले बुकिङ गरेको होटलमा बसेनन् ।
तपाईं कहाँ जानुभयो ? राति पनि बस्नुभएन भनेर प्रश्न गरेपछि उसले भन्यो, ‘ए बहिनी तपाईंलाई यस्तो कुरा थाहा छैन । तपाईं सोझो साझो मान्छे । तपाईं हाम्रो छुट्टै कहानी छ । भोलिपर्सि भनौँला ।’ त्यसपछि म काठमाडौँ आएँ । मलाई ऋण चाहिएको पनि होइन भनेर म फर्किएर आएँ । दुई/तीन दिनपछाडि मलाई सुन पसलेको फोन आयो, ‘बहिनी पैसा दिने भयौँ । ’
त्यसपछि उनीहरु मेरो रेष्टुरेन्टमा आयो । परिचय गरौँ भनेर आए । तपाईंको रेष्टुरेन्टमा सहकारीको साहु सबै बसेर खाना खाऔँ भनेर उनीहरुले प्रस्ताव गरे । हुन्छ दाइ भनेर हामीले रेष्टुरेन्टमा खाना पकाएर बस्यौँ । परिवारबीच मिलन हुने भन्ने कुरा भयो । टेबुलमा मलाई सहकारीको साहु भनेर चिनाए । मैले नमस्ते गरेँ । साहुनी भनेर मलाई चिनाए । ऋण दिनुहोला भनेर पठायौँ । कागजमा मेरो कुनै हस्ताक्षर गरिएन ।
फेरि उनीहरुले फोन गरे । तपाईं खाता खोल्न आउनुपर्दैन । तपाईंको खाता हामीले खोलिदिइसक्यौँ । तपाईंलाई ऋण दिने कुरा भित्र–भित्र मिलाइसक्यौँ । अब तपाईंले हामीलाई तीन लाख रुपैयाँ घुस दिनुपर्छ भन्ने प्रस्ताव गरे । मैले कहाँबाट ल्याएर दिनेँ भनेर मैले प्रश्न गरेँ । सुन पसलेले नै घुसको प्रस्ताव गरेको हो । ऋण मिलाइदिएबापतको प्रतिशत हो घुस होइन भन्नेसम्मको कुरा भयो । मैले फेरि तीन लाख रुपैयाँ व्यक्तिगत रुपमा ऋण काढेँ । तीन लाख रुपैयाँ लिएर गएँ । त्यति नै बेला मलाई ल ऋणको कागज मिलाएर आउने भनेर चितवन जाऊँ भन्ने प्रस्ताव आयो । हामी चितवनको पर्सा मालपोत गयौँ । म मालपोतभित्र पनि प्रवेश गरिनँ । बाहिरै रहेको एउटा चियापसलमा बसिरहेँ । चिया पसले भाइले मलाई दिदी हजुर किन आउनुभएको भनेर प्रश्न ग-यो । जग्गा राखेर सहकारीबाट ऋण मिलाउन भनेर आएको भन्ने जवाफ दिएँ ।
फाइनान्सको साहुनी भन्ने मान्छेले रामनगरबाट एक जना मान्छेलाई मालपोतमा ल्याएको थियो । उसले परिचय गर्दा मालपोतको काम गर्ने मान्छे भनेर परिचय गरायो । मैले सोझो हिसाबले एउटा फाइनान्सको साहुनी भनेर बुझेँ ।
साहुनीलाई मिलाउने सुन पसले, र रामनगरबाट आएको मान्छे मालपोतको मान्छे भनेर बुझेँ । मलाई त्यसरी नै परिचय गराएका थिए । मलाई पुर्जा बोकेर हिँडेँ । बाहिर नै बसेर कागज बनाउने कुरा भयो । १/२ घण्टा लाग्छ । तपाईं तीन लाख रुपैयाँ मिलाउँदै गर्नुस् । हामी कागज मिलाउँदै गर्छौँ भनेर लागे ।
काठमाडौंबाट तीन लाख रुपैयाँ आईएमई गरेर मगाएँ । कागज तयार भएपछि तपाईंसँग पैसा रेडी भयो भनेर सोधे । घुस खुवाउनुपर्छ भनेपछि त्यो पनि प्लानमै गएको हो । मलाई मालपोतले पनि झुक्यायो । अनि मालपोतमा पुगेपछि मलाई मिल्यो भनेर सोधियो । मैले तीन लाख रुपैयाँ पैसा मिलाएको हुनाले मिल्यो भनिदिएँ । तपाईंले जग्गा बेच्न लागेको हो कि, दृष्टि बन्धक राख्ने हो कि भनेर स्पष्ट केही सोधेन । मलाई ३० लाख रुपैयाँ ऋण दिने भनिएको थियो । मैले मिल्यो भनेँ ।
तर, ऋण दिने भनेर बनाएको कागजचाहिँ मेरो पुर्जा अर्कैको नाममा जग्गापास गर्ने भनेर कागज बनाएको रहेछ । त्यो दिदीको नाममा जग्गा पास हुने भनेर कागज बनाएको रहेछ । त्यो कागज मैले पढिनँ । त्यो पनि त्यही दिदीको नाममा जग्गा नामसारी गरिएको रहेछ । तर, मैले त्यतिबेला जग्गा पास भएको भन्ने कुरा मलाई थाहा थिएन । जब राति त्यो कागज बनाएपछि फर्किएर काठमाडौं आए । त्यो कागजमा साइन गर्न बेलुका साढे ७ बजे आउनुस् भनेर बोलाइयो । सहकारी गएँ । उनीहरुले फाइल दिए । मैले साइन गरेँ । अहिले नै मेरो ऋणको पैसा हाल्दे अनि साइन गरौँलाई भन्न त मिल्दैन । पैसा त खातामा हाल्ने हो नि ! ऋण खातामा आउला भनेर मैले साइन गरिदिएँ ।
भोलिपल्ट त्यही सुन पसले आयो । उसले एउटा चेक बुक पनि बोकेर आयो । ल बहिनी त्यो सुनको पैसाको चेकमा साइन गरिहाल्नु भन्यो । म खुसी भएर मैले हस्ताक्षर गरिदिएँ । अब मेरो सुन पनि आउने भयो । बाँकी भएको पैसाले मैले काम गर्ने भएँ भनेर खुसी भएँ । तर, त्यो पैसा त झिकेर सुनपसलेले लगेछ । अर्को मान्छेलाई चेक काटेर पठाउँदा सहकारीले पैसा दिएनछ । चार लाख २० हजारको चेक फर्किएर आयो । अर्को पनि चेक दिएको थिएँ । त्यो पनि फर्किएर आयो । सुरुमा मलाई एक्सक्युज माग्यो । होइन म मिलाइदिन्छु ।
हामी ठूलो ठूलो अर्बको कारोबार गर्ने मान्छे तपाईंको सानो कारोबार मिलाइदिन्छु भनेर आश्वासन दिइयो । एकछिन पर्खनुस् तपाईंको पैसा खातामा आउँछ भन्ने कुरा गरियो । धेरै ठूलो मान्छेसँग मेरो संगत भएछ भनेर म फोन राखेर बसेँ । फेरि अर्को चेक लिएर जाँदा पैसा दिएन । १२/१५ दिनसम्म पैसा नदिएपछि म सुन पसलमा गएँ । उसको श्रीमती त्यहीँ थिइन् । त्यसले मलाई भनिन्, ‘तपाईंलाई थाहा छ बैनी तपाईंको जग्गा त मेरो बूढो र यो महिला मिलेर पास गरेर लगिसके ।’ तपाईंको सुन पनि मेरो बूढाले चोरेर भागिसक्यो भनिन् । म त छक्क परेँ । तपाईंको सुन पनि गालेर मासिसक्यो भन्यो । फिर्ता दिन सक्दैन । यसले नभनेको मात्रै हो । जग्गा पनि सहकारीको साहुनी भन्ने महिलाको नाममा पास गरेर लगिसक्यो भनेपछि म जालसाजीमा परेको थाहा पाएँ । त्यसपछि म फाइनान्स गएँ । ठीकै छ मेरो जग्गा लानुभएको रहेछ । भनेको समयमा म पैसा तिर्छु । मलाई पैसा दिनुस् न त ठीकै छ ।
तर, पैसा मेरो खातामा आएन । यसै त म गर्भवती मान्छे । दिनैपिच्छे म फाइनान्स जाँन्थेँ । म रोइकराइ गर्न थालेँ । करिब ५ महिना धाएँ । उनीहरुले ६ महिने अवधिको ऋण दिने भनेका थिए । त्यही कृष्ण रामदामलाई झिकेर पठाएको पैसा पनि मैले तिर्नुपर्ने भयो । त्यही पैसा पनि तिर्नुप-यो । पैसा तिर्न जाँदा तपाईंको खातामा पैसा हालेको हाल्यै छ पैसा किन नझिकेको भने जस्तो कुरा गरे । त्यसपछि म ऋण लान्न भन्न पुगेँ । म आफ्नै जिन्दगीमा व्यस्त थिएँ । फेरि मलाई सहकारीको नाममा सुन पसलेले बोलायो । र, हेर्नुस् बैनी तपाईंको खातामा पैसा छ त्यो पैसा तपाईंले झिक्नुभएन । ल ठीक छ । तपाईंले यो चेकमा साइन गरेर चेक नै फाइनान्सलाई फिर्ता पठाइदिनु न । त्यही ऋण सारेको भनेर तपाईं ऋणबाट मुक्त हुनुहुन्छ भनेपछि आफ्नो छ लाख रुपैयाँ सुन पसलेले निकालेको छ । खातामा पैसा भए पनि त्यसै दिन्न भनेर मैले अडान राखेँ । वकिल राखेर कागज गरौँ भन्ने कुरा समेत आयो । फाइनान्सको चेक फिर्ता गरेको भनेर मैले हस्ताक्षर गराएँ । फेरि मलाई सहकारीबाट फोन आयो, ‘ल तपाईंको चेकबाट पैसा झिकेर यहाँबाट हरायो’ भन्यो । म भन्छु कसरी हरायो ? हामी मान्छे खोज्दै छौँ यहाँ आएर किचकिच नगर्नुस् भन्न थालियो । नौ लाख रुपैयाँ चोरी भयो भन्ने करा आयो ।
तर, पैसा झिकेर लग्यो भनिएको मान्छे पनि त्यही सुन पसलेको भाइ रहेछ । उसलाई पनि समातेर ल्याएँ । सरोज रामदाम । उसलाई समातेर ल्याइयो । तिमीले पैसा झिकेको हो भनेर मैले सोधेँ । उसले भन्यो, ‘होइन दिदी मैले झिकेको छैन । मलाई जहाँ लैजानुस् । म जहाँ पनि जान्छु तर मैले झिकेको छैन । पैसा सबै फाइनान्सले झिक्यो । मलाई फसाएको हो भनियो । पछि मलाई पो अदालतमा पैसा लग्यो तिराई पाऊँ भनेर मुद्दा हालेछन् । त्यही बेला मेरो ब्रेन ह्यामरेज भयो । मेरो गहना पनि गयो, पैसा पनि गयो सहकारीबाट एक पैसा पनि निकालेको छैन तर जीवनभर कमाएको पैसाले किनेको जग्गा पनि गयो । किस्ता तिरेको छैन । तीन लाख रुपैयाँ घुसकै पैसा रहेछ । साहुनी भनेर गएको मान्छे प्रबन्धनिर्देशक रहेछ । त्यसपछि मैले जनसेवा, हनुमान ढोका गएँ । तर केही भएन । स्वस्थानी के.सी.