काठमाडौं । विश्व बैंकले नेपालको आन्तरिक रोजगारी प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका क्षेत्रीय निर्देशक लीन वेन्जसहितको प्रतिनिधिमण्डलले मंगलबार गरेको शिष्टाचार भेटमा नेपाल सरकारको आन्तरिक रोजगारी प्रवर्द्धनसम्बन्धी नीति कार्यान्वयनमा विश्व बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।
भेटमा विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारिताका विषयमा पनि छलफल भएको थियो । मन्त्री श्रेष्ठले आन्तरिक रोजगारीका लागि सरकारले लिएको रणनीति कार्यान्वयनमा विश्व बैंकको सहयोग महत्वपूर्ण रहेको बताएका थिए । विश्व बैंकले आन्तरिक रोजगार सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनामा गरेको सहयोगका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिए । बेरोजगार व्यक्तिको वैयक्तिक विवरण, ज्ञान, सीप र अनुभव, रोजगारीको सम्भाव्य क्षेत्र तथा श्रम बजारका माग र आपूर्ति पक्ष समेतको विवरण एकीकृत गरी रोजगार व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नतिका लागि विश्व बैंकले सहयोग गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन दिगो रोजगारीसँग जोड्ने, बेरोजगार, विपन्न तथा लक्षित वर्गका लागि उपयोगी किसिमका पूर्वाधार विकास गर्ने तथा बजारको मागअनुसार रोजगारी आपूर्ति गर्नेतर्फ थप सहकार्यको जरुरी रहेको श्रेष्ठले बताए ।
सामाजिक सुरक्षाअन्तर्गत सयदिने अस्थायी रोजगारी कार्यक्रम स्थानीय तहमार्फत सञ्चालन भइरहेको बताउँँदै उनले यस कार्यक्रमले कोभिड १९ महामारीमा विपन्न समुदायलाई राहत प्रदान गरेको उल्लेख गरे । अहिले विभिन्न निकायबाट हुँदै आएका सबै खाले सीप तालिमका कार्यक्रमहरूलाई एकत्रितरूपमा सञ्चालन गरी सीपयुक्त जनशक्ति उत्पादन गर्ने सरकारको नीति रहेको उनको भनाइ थियो । यस्तै उनले सातै प्रदेशमा निर्माण गरिने तालिमकेन्द्रका लागि विश्व बैंकबाट सहयोगको अपेक्षा गरिएको बताए । विश्व बैंकका क्षेत्रीय निर्देशक लीनले सरकार, विकास साझेदार र निजी क्षेत्रसँग सहकार्य गरी विपन्न तथा जोखिमपूर्ण जीवनयापन गरेका नेपाली जनतालाई सहयोग गर्न बिश्व बैंक तयार रहेको बताइन् । नेपाल सरकारको आन्तरिक रोजगारी प्रवर्द्धनसम्बन्धी नीति कार्यान्वयनमा विश्व बैंकले सहयोग गर्ने उनको भनाइ थियो । युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनाले विपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तारमार्फत श्रम बजारको परिणाममा सुधार ल्याउने उनले बताइन् ।
माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले नेपालमा थप रोजगारमूल्क कार्यक्रम, यससम्बन्धी नीति, क्षमता विकास तथा सेवा प्रवाहमा सुधार हुनेगरी सहायता परिचालन गर्न विश्व बैंक तयार रहेको बताए । सो अवसरमा प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डन्डुराज घिमिरेले परियोजनामार्फत भइरहेका कार्यक्रमहरूबारे जानकारी गराएका थिए । विश्व बैंक नेपालको प्रमुख दातृ निकाय हो ।