काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले गण्डकी प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरी ‘ग्लोबल मनी वीक’ भव्यरूपमा सम्पन्न गरेको छ । गण्डकी प्रदेशअन्तर्गतका सम्पूर्ण व्यक्तिहरूमा वित्तीय सेवाको पहुँच पु-याउने र यस प्रदेशका हरेक वर्ग र क्षेत्रका मानिसहरूलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । ग्लोबल मनी विक २०२२ को थिम ‘बिल्ड योर फ्युचर, वि स्मार्ट अबाउट मनी’ र ग्लोबल मनी विक को स्थायी नारा ‘लर्न सेभ अर्न’लाई सार्थक बनाउने प्रयासस्वरूप बैंकले गण्डकी प्रदेशमा अभियानकै रूपमा वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ ।
फागुन ७ देखि १३ गतेसम्म चामे मनाङ, गोरखाको जौबारी, कास्की पोखराको पृथ्वीचोक, अमरसिङ, बगर र हेम्जा साथै बाग्लुङ जिल्लाको बुर्तिवाङ गरी सात स्थानहरूमा बैंकका शाखाहरूले विद्यार्थी, महिला, किसान, उद्यमीलगायत समाजका विभिन्न वर्गका व्यक्तिहरू लाभान्वित हुनेगरी वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेका छन् । बैंकले गण्डकी प्रदेशमा यस आर्थिक वर्षको सुरुदेखि हालसम्म २० वटा वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरेको र उक्त कार्यक्रमहरूबाट करिब १५ सय व्यक्तिहरू लाभान्वित भएको बैंकले जानकारी दिएको छ ।