ब्रसेल्स । युरोपले रुसी अर्थतन्त्रलाई थप धक्का दिन कोइला आयातमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ । नयाँ चरणको प्रतिबन्धका लागि यस्तो प्रस्ताव गरिएको बताइएको छ । योसँगै रुसी तेलमाथि पनि प्रतिबन्ध लाग्न सक्नेछ ।
युरोपेली आयोगले मंगलबार यसबारे प्रस्ताव गरेको भए पनि ईयू सदस्यराष्ट्रले यसलाई स्वीकार गर्न बाँकी छ । यसअघि नै युरोपले चौथो चरणका प्रतिबन्ध लगाइसकेको छ । यो सबै रुसले युक्रेनमाथि गरेको आक्रमणको पश्चिमा प्रतिक्रिया हो । प्रतिबन्ध लगाएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कमजोर पार्न लक्षित गर्न खोजिएको छ । युक्रेनी राजधानीमा सामूहिक चिहान भेटिएसँगै पश्चिमा देश रुसप्रति चिढिएका छन् । युरोपले रुसी कोइलामाथि प्रतिबन्ध लगाउँदा चार अर्ब युरोबराबरको धक्का रुसलाई लाग्नेछ । यद्यपि ऊर्जा क्षेत्रलक्षित प्रतिबन्ध लगाउन सबै ईयू सदस्यराष्ट्र तयार भइसकेका छैनन् ।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफूले यसलाई समर्थन गर्नसक्ने सोमबार नै बताएका थिए । जर्मनीले पनि कोइला आयातमा प्रतिबन्धलाई समर्थन गर्नसक्ने बताएको छ । रुस सन् २०२० मा तेस्रो ठूलो कोइला निर्यात गर्ने देश बनेको थियो । ऊभन्दा अगाडि अस्ट्रेलिया र इन्डोनेसिया रहेका छन् । रुसले धेरैजसो थर्मल कोइला युरोपमा निर्यात गर्दै आएको छ ।