काठमाडौं । काठमाडौंको कालीमाटीमा रहेको आईपी रोडलाइन्स कम्पनीले प्रहरी, भन्सार तथा राजस्वका कर्मचारीसँग सेटिङ गरेर विभिन्न मालसामान नेपालमा ढुवानी गर्दै आइरहेको पाइएको छ ।
कालीमाटीस्थित बसेरा भवनमा रहेको उक्त कम्पनीले प्रहरी, भन्सार र राजस्वका कर्मचारीसँग मिलेमतो गरी भन्सार र राजस्व छल्ने र भारतलगायतका देशबाट सामान ढुवानी गर्दै आएको छ । कम्पनीले सामान ढुवानी मात्र हैन, भन्सार क्लियरिङको काम पनि गर्दै आएको छ । उसले साफ्टा सुविधामा नेपाल आउने सामानको समेत दुरुपयोग गरेको पाइएको छ । साफ्टा सुविधामा भारतबाट नेपालमा सुतीकपडा र सुतीजन्य अन्य कपडाहरु आउने गर्दछन् । आईपीले भारतमा समेत सेटिङ मिलाएर साफ्टा सुविधामा नपर्ने कपडाहरुलाई पनि साफ्टा सुविधामा ल्याएर मिलेमतोमा भन्सार र राजस्व छल्ने गरेको छ ।
आईपीले मार्बल, टायल तथा निर्माणसम्बन्धी सबै सामान नेपालमा ल्याउने गर्छ । यी सबै सामान भारतबाट ल्याउँदा अन्डर इन्भ्वाइसमा ल्याउने गरेको पनि पाइएको छ । उसले व्यापारीहरुसँग पहिला नै मिलाएर बिल तयार पार्न लगाउने र सोही बिलको आधारमा भन्सार छुटाउने काम पनि उसले गर्दै आएको छ । अझ भारतबाट सामान ल्याउँदा उसले हुण्डीमा ढुवानी र भन्सारको जिम्मा लिएर उठाउने गरेको छ ।
आईपीले तलदेखि माथिसम्म सेटिङ मिलाउँदा भन्सार र राजस्वमा गडबड गरेर सामान नेपाल ल्याउँदा समेत उक्त कम्पनीविरुद्ध सरकारी निकायले कारबाही गर्न सकिरहेको छैन । उल्टै सेटिङमा नेपालतर्फ सामान पठाउने गरेका छन् । भारतीय नाका तथा भन्सारमा बसेका कर्मचारीले मिलेमतोमा उक्त कम्पनीले ल्याएका सामान छुटाइ दिने गरेका हुन् ।
आईपी रोडलाइन्स कम्पनी कालीमाटीस्थित बसेरा भवनमा छ । उक्त कम्पनीका सञ्चालक मनिषकुमार गोयल हुन् । उनीहरुको खानदान नै यही पेशामा आबद्ध रहँदै आएको छ । मनिषका बाबु नरेशकुमार गोयल, दाइ नवीन गोयल र काका राजेश गोयल मिलेर यो व्यवसाय चलाउँछन् ।
राजेश र नवीन भारतकोे नयाँदिल्लीमा बस्छन् । उनीहरुले सेटिङमा नेपालतर्फ सामान पठाउँछन् । मनिषले नेपालको कम्पनी हेर्ने र नेपालमा सेटिङ गर्ने गर्दछन् । मनिषले भन्सार, राजस्वका कर्मचारी मिलाउनका लागि छुट्टै संयन्त्र समेत परिचालन गरेका छन् । नवीन र राजेशको भन्दा एक नेपालीको नाममा आईपी रोडलाइन्सको सेयर बढी छ । नवीन र राजेश नेपाली नागरिक समेत हुन् ।
हिमालयन रोडक्यारिअर कम्पनीका सञ्चालक विनोद गुप्ता पनि मनिषका आफन्त नै हुन् । गुप्ता हाल राजस्व छलीसम्बन्धी मुद्दामा जेलमा छन् । गुप्ता मनिष, नवीन र राजेशका नाता पर्ने आफन्त हुन् । आईपीले भारतबाट नेपाल आउने सबैजसो सामान भन्सार छली नेपालतर्फ पठाउने काम गर्छ । सेटिङमा नेपालतर्फ सामान पास गरिदिन्छ ।
यादव थरका एक जना नेपालीले नाममा दर्ता भएको कम्पनी प्रयोग गरेर सामान नेपाल ल्याउँदा ठूलो मात्रामा राजस्व छलेकोले उनलाई राजस्वले कारबाही ग-यो । त्यसमा पनि आईपी मुछिएको समाचार स्रोतले बताएको छ । यस सम्बन्धमा मनिषकुमार गोयलसँग बुझ्न खोज्दा सम्पर्क हुनसकेन ।