काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पुरातात्विक संरचना निर्माणको काम समयमै सक्न निर्देशन दिएकी छिन् । अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिअन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गर्दै उनले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमा थप छलफल गरिने समेत बताइन् ।
मन्त्री झाँक्रीले निर्माणक्षेत्रमा रहेका सत्तलमा आश्रित रहेका परिवारहरूको व्यवस्थानबारे मन्त्रालयले सकारात्मक पहल गर्ने बताउँदै मन्त्रालयको एकल निर्णयले मात्र आश्रित परिवारको व्यवस्थापन गर्न नसकिने उल्लेख गरिन् । उनले अन्य सरोकारवाला निकायहरूसँग छलफल गरेर नयाँ ठाउँमा पुनस्र्थापना गर्न सकिने विकल्प खोज्नुपर्नेमा जोड दिइन् । अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले पहिलो क्षेत्रको काम सम्पन्न भइसकेको बताए । साथै दोस्रो र तेस्रो साइट निर्माणकार्य करिब ७० प्रतिशत सकिएको उनको भनाइ थियो ।
पुरातात्विक र सांस्कृतिक संरचना निर्माण गर्नुपर्ने आयोजना भएकाले काम गर्न अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण रहेको उनले बताए । आगामी असारसम्म आयोजनाको म्याद रहेकाले आफूहरू समयमै काम सक्न प्रतिबद्ध रहेको प्याकुरेलको भनाइ थियो । आफूले निर्माण व्यवसायी र परामर्शदातालाई आयोजना समयमै सक्न ताकेता गरिरहेको उनले जानकारी दिए ।