नयाँ दिल्ली । नयाँ दिल्ली, चैत २३ । दक्षिण एसियाली देश भारतमा कोरोनाभाइरसको ओमिक्रोनको पनि नयाँ भेरिएन्ट भेटिएको छ । कोरोनाभाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टका संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनी यो भेरियन्टका भारतमा पहिलो बिरामी भएको बताइएको छ । उनको अवस्था गम्भीर नभएको स्थानीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
रिपोर्टअनुसार बिरामी एक महिला रहेको र उनी फेब्रुअरी १० मा दक्षिण अफ्रिकाबाट मुम्बई आइपुगेको तर उनमा कुनै जटिल समस्या नदेखिएको चिकित्सकले बताएका छन् ।
अधिकारीका अनुसार मुम्बईबाट आएका दुई सय ३० नमूनामध्ये दुई सय २८ वटा ओमिक्रोन भेरियन्टका छन् । त्यस्तै एक जनामा काप्पा भेरियन्ट भेटिएको र अर्कोमा ओमिक्रोन एक्सई भेरिएन्ट रहेको पाइएको छ ।
‘यो भाइरसको नयाँ किटाणुबाट संक्रमित बिरामीको अवस्था गम्भीर छैन’, अधिकारीले भने, ‘ओमिक्रोनको बीए–टु प्रजातिभन्दा एक्सई १० प्रतिशत बढी संक्रमण हुनसक्ने देखिएको छ । अहिलेसम्म बीए–२ सबै कोभिड–१९ भेरिएन्टमध्ये सबैभन्दा संक्रामक ठानिएको छ ।