कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षेले देशभरि लगाइएको संकटकाल खारेज गरेका छन् । यही अप्रिल ५ को मध्यरातदेखि लागू हुने गरी संकटकाल हटाउने निर्णय भएको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।
आन्दोलनमा उत्रिएका नागरिकले राष्ट्रपति निवास घेराउ गर्दै नाराबाजी गरेपछि सरकारले देशव्यापी संकटकालको घोषणा गरेको थियो । ‘सार्वजनिक सुरक्षालाई ध्यान दिँदै लागू गरिएको संकटकाल हटाउने निर्णय भएको छ’, राष्ट्रपति राजापाक्षेले भने ।
आर्थिक तथा राजनीतिक संकटमा परेको श्रीलंकामा सरकारका कारण संकट उत्पन्न भएको भन्दै सुरु भएको आन्दोलन अझै पनि जारी छ । प्रशासनिक संकटकाल खारेज गरिए पनि स्वास्थ्य संकटकाल भने कायमै रहेको अधिकारीहरूले जनाएका छन् ।
देशभरि औषधिको अभाव भएको, थप ल्याउन नसकिएको र स्वास्थ्य सेवा प्रवाहमा पनि समस्या भएकाले स्वास्थ्य संकटकाल लगाउनुपरेको सरकारी अधिकारीहरूको भनाइ छ ।