काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरु काठमाडौैंबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मीनभवनका प्रवक्ता एवं सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार नुवाकोटको साबिक लिखु गाउँपालिका (परिवर्तित शिवपुर गाउँपालिका) घर भई हाल काठमाडौंको टोखा बस्ने ३१ वर्षीय राजु भण्डारी र झापाको गौरादह घर भई हाल काठमाडौंको धुम्वाराही बस्ने ५० वर्षीय उपेन्द्र प्रसाद ढुंगानालाई फरक फरक ठाउँबाट बिहीबार पक्राउ गरिएको हो ।
पक्राउ परेका दुईमध्ये भण्डारीउपर उच्च अदालत पाटनको २०७८ वैशाख १ गतेको फैसलाले सात लाख पाँच हजार पाँच सय रुपैयाँ जरिवाना तोेकेको थियो । सोपश्चात् फरार रहेका भण्डारीलाई महाशाखाको टोलीले बिहीबार काठमाडौंको बानियाँटारबाट पक्राउ गरी सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको उनले बताए ।
प्रवक्ता कोइरालाका अनुसार व्रजेश कुमार नायकको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी ढुंगाना भएको बैैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत विरानटनगरको २०७८ पुस २२ गतेको फैसलाले पक्राउ अनुमति समेत जारी भएको थियो । त्यसपछि फरार रहेका ढुंगाना काठमाडौंमा लुकिछिपी बस्दै आएकोमा जिल्ला प्रहरी कार्यालय दमकले फरार प्रतिवादी उपेन्द्र प्रसाद ढुंगानालाई पक्राउ गरी दाखिला गराइदिन पत्राचार गरेअनुरुप उनलाई पनि बिहीबार काठमाडौंको धुम्वाराहीबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दमक पठाइएको छ । प्रहरी उपरीक्षक कोइरालाका अनुसार पक्राउ परेका ढुंगानाउपर १७ लाख रुपैयाँ बिगो तोकिएको छ ।