काठमाडौं । बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव भएसँगै अन्तरबैंक कारोबार रकम पनि बढेको छ । वित्तीय प्रणालीमा पर्याप्त मात्रामा निक्षेप आएको छैन । यो अवस्थामा कर्जाको माग बढेको छ । सोही कारण निक्षेप तथा कर्जा रकम दुवैमा संकुचन आएको छ भने बैंकहरुले नेपाल राष्ट्र बैंकले तोकिएको ९० प्रतिशतको सीडी रेसियो कायम गर्न सकेका छैनन् ।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांकलाई आधारमा मान्ने हो पनि बैंकिङ क्षेत्रको सीडी रेसियो ९४ प्रतिशतसम्म पुगेको छ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीडी रेसियो कायम गर्नुपर्ने समयसीमा २०७९ असार मसान्तसम्म छ ।
बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम अभाव भएकै कारण पनि हुन सक्छ, पछिल्लो समय बैंकिङ क्षेत्रमा अन्तरबैंक (पारस्परिक कारोबार) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरको समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६१ वटा संस्थाहरुले कुल २१ खर्ब ३० अर्ब २१ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् ।
वाणिज्य बैंकहरुले मात्र भने सो अवधिमा १८ खर्ब ९३ अर्ब २८ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । राष्ट्र बैंकका अनुसार विकास बैंक र फाइनान्स कम्पनीहरुले यस अवधिमा दुई खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको तीन खर्ब ६३ अर्ब २५ करोड र अन्य वित्तीय संस्थाहरुको एक खर्ब २९ अर्ब ८ करोड गरी कुल चार खर्ब ९२ अर्ब ३३ करोड अन्तरबैंक कारोबार भएको थियो ।
अन्तरबैंक कारोबार रकम बढेको आधारमा बैंकिङ क्षेत्रको ब्याज रकम पनि बढेको छ । राष्ट्र बैंकका अनुसार २०७७ माघमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर एक दशमलव १३ प्रतिशत रहेकोमा २०७८ माघमा पाँच दशमलव ३२ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ माघमा शून्य दशमलव ५८ प्रतिशत रहेकोमा २०७८ माघमा चार दशमलव ७८ प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने भारित औसत अन्तर–बैंक (बैंक तथा वित्तीय संस्था) ब्याजदर २०७८ माघमा चार दशमलव ८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर शून्य दशमलव ५९ प्रतिशत रहेको थियो ।
वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ माघमा छ दशमलव ९७ प्रतिशत रहेकोमा २०७८ माघमा आठ दशमलव ५३ प्रतिशत कायम भएको छ । २०७८ माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ४९ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १० दशमलव ३१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः चार दशमलव ८६ प्रतिशत र आठ दशमलव ८९ प्रतिशत रहेको थियो ।