काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको स्पष्ट पारेका छन् । उनले अर्थतन्त्रका आधार कमजोर नभएकोले अहिले देखिएका समस्यालाई सम्बोधन गर्न सकिने बताए ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले कोभिडपछि विश्व अर्थतन्त्र रिकभरीको बाटोमा गए पनि रसिया–युक्रेनको युद्धको कारणले नेपाल मात्रै नभएर इस्ट एसियाका मुलुकमा प्रभाव देखिएको बताए । युद्धको कारण उत्पादनमूलक क्षेत्रमा कच्चा पदार्थको आपूर्तिमा प्रभावित भएको उनको भनाइ छ ।
यस्तै उनले नेपालको मुद्रा स्फितिमा पनि समस्या परेको उल्लेख गरे । उनले भने, ‘अहिले सार्वजनिक मुद्रा स्फितिमा दबाब परेको छ । अमेरिकामा मुद्रा स्फिति २ प्रतिशत भइरहेको हुन्थ्यो, अहिले ८ देखि १० प्रतिशत पुग्छ कि भन्ने आकलन आइरहेको छ ।’ विकसित मुलुक पनि अहिले मूल्यवृद्धिको चापमा परेको उनले बताए । उनले अर्थतन्त्र चलाउने कुरामा चुनौती थपेको पनि सुनाए । ‘मुद्रा स्फितिको चाप अन्तर्राष्ट्रिय परिस्थितिको कारणले गर्दा भएको छ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ, त्यसको परिणामस्वरूप हामीकहाँ पनि मूल्यवृद्धि हुने प्रवृत्ति छ’, उनले भने, ‘उद्योगहरूको कञ्चा पदार्थको आपूर्ति हुन सकेको छैन । विदेशी विनिमय सञ्चिति गत वर्षभन्दा उल्लेखनीय घटेको हो । गतवर्ष हामीसँग १२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने सञ्चिति थियो । अहिले त्यो घट्दै गएको छ । अहिले साँढे छ महिना धान्न सक्ने अवस्थामा छ । शोधान्तरण स्थिति र ब्यालेन्स अफ पेमेन्ट हेर्दा नेपालबाट बाहिर रकम बढी गएको छ ।’
उनका अनुसार नेपालको शोधनान्तर स्थिति दुई सय ४७ अर्बले घाटामा रहेको छ । यो भनेको विनिमय सञ्चिति घटेको हो । यसले खाद्यान्न, औषधिहरू आयातमा प्रभावित गर्ने हो कि भन्ने चिन्ता बढेको उनले बताए । विदेशी विनिमय सञ्चितिलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए । भट्टले गत वर्ष मात्रै नेपालले ५० अर्बको चामल आयात गरेको तथ्यांक उल्लेख गर्दै यो वर्षको आठ महिना मात्रै हेर्दा ३७ अर्बको चामल आयात गरेको सुनाए । उनले भने, ‘८ महिनामा हेर्दा करिब २७ अर्बको तरकारी, १६ अर्बको फलफूल आयात गरेका छौँ । यी भनेका हाम्रा जीवनका अत्यावश्यक वस्तु हुन् ।’ यस्तै उनले अहिलेको मूल्यवृद्धिले पेट्रोलियम पदार्थको उपयोगमा अलिकति किफायती बन्नुपर्छ भन्ने देखाएको बताए । विदेशी विनिमय सञ्चितिमा चनाखो हुनुपर्नेमा उनको जोड छ ।
यस्तै उनले अहिलेको नेपालको अर्थतन्त्रको डार्क साइट मात्रै नभएको दाबी गरे । उनले भने, ‘आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किएका छन् । वस्तु, सेवा र कर्जाको माग बढेको छ । यो पक्षलाई पनि हामीले बिर्सिनु हुँदैन । अर्थतन्त्र नर्मल अवस्थामा आएको हुनाले पनि आयात बढेको हो । केही वस्तुको आयात भने हामीले केही समय रोक्नुपर्छ । अर्थतन्त्रलाई सही तवरले अघि बढाउनुपर्छ । पर्यटन क्षेत्र सलबलाउन थालेको छ । प्रत्यक्ष विदेशी लगानी राम्रो आएको छ । यो वर्षको आठ महिनाको तथ्यांक हेर्दा साँढे १६ अर्ब आएको छ ।
गतवर्ष १९ अर्ब मात्रै आएको छ । यो आर्थिक वर्षको आठ महिनामा १६ दशमलव पाँच अर्ब आएको छ, यो राम्रो कुरा हो । अर्को भनेको रेमिट्यान्स एउटा महत्वपूर्ण स्रोत हो ।’ उनले श्रीलंकाजस्तो संकटको अवस्थामा नेपाल नरहेको पनि जिकिर गरे । उनका अनुसार श्रीलंकाको आन्तरिक र बाह्य ऋण जीडीपीको एक सय १७ प्रतिशत ऋण छ, जुन हामीसँग तुलना हुँदैन । वैदेशिक रोजगारीको अवस्था हेर्दा, नेपालको रेमिट्यान्स राम्रै हुने उनको भनाइ छ । समन्वयात्मक ढंगले काम गर्ने हो भने अर्थतन्त्रमा देखिएको चुनौती क्रमिकरूपमा समाधान गर्न सकिने उनले बताए । उनले कतिपय वैदेशिक ऋण सहयोगलगायत विदेशी विनिमय सञ्चितिका स्रोतलाई पहिल्याउन सकियो भने नेपालको अर्थतन्त्र सही बाटोमा जान सक्ने पनि विश्वास दिलाए ।
उनले बैंकिङ क्षेत्रमा तरलता रहेको अवस्था पनि सुनाए । ‘नेपाल राष्ट्र बैंकले करिब ५४ खर्ब स्थायी तरलता सुविधा पटक–पटक दिएकै हो । अहिले पनि हेर्ने हो भने दुई खर्बभन्दा बजारमा लगानी रहेको देखिन्छ । तीन खर्ब जति प्रत्येक दिन तरलताको लागि दिएको छ, तर तरलतामा दबाब छ । नभएको होइन । बिस्तारै अब सुधार आउन सक्छ’, उनले भने, ‘बैंकको ब्याजदरमा केही दबाब छ भन्ने छ । तरलतामा दबाब बढ्नेबित्तिकै आपूर्ति र मागको पक्षमा ग्याप देखियो । त्यसको कारणले पनि ब्याजदर माथि गएको हो । हाम्रो उद्देश्य के हो भने ब्याजदर स्थायित्व कायम हुन्नुपर्छ । यसको लागि हामीले केही कदम पनि चालेका छौँ ।’
उनले सोसल सेक्युरिटीको दायरा बढाउँदै जाने हो भने भोलि समस्या आउनसक्ने पनि सतर्कता अपनाए । पूर्वाधारको विकासमा खर्च गर्नुपर्नेमा उनले जोड दिए । यस्तै उनले क्रिप्टो करेन्सीको कारोबारबारे अध्ययन गर्न अर्थ मन्त्रालयले कार्यदल बनाएको र सोहीअनुसार काम गरेको पनि सुनाए ।