काठमाडौं । लुम्बिनी विकास बैंकले २६औँ पटक सगरमाथाको आरोहण गर्न लागेका विश्व कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई शुभकामना कार्यक्रमको आयोजना गरेको छ । विश्वको सर्वाेच्च शिखर सगरमाथाको २५ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरी सकेका कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६औँ पटक पुनः आरोहणको लागि प्रस्थान गर्न लागेकोमा उनको सफल आरोहणको लागि लुम्बिनी विकास बैंकले समेत सहकार्य गर्दै लुम्बिनी विकास बैंकको लोगोअङ्कित झण्डा बैंकका अध्यक्ष दशरथ रिसालले शेर्पालाई हस्तान्तरण गरेका छन् ।
किर्तीमानी पर्वतारोही कामीरिता शेर्पा विगत दुई दशकदेखि यस लुम्बिनी विकास बैंक लि.मा निरन्तर सहयात्री बनी आबद्ध छन् । उनको यो कीर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले सगरमाथा २६औँ पटक आरोहण गर्न लागेको जानकारी दिए । उनको यस कार्यले लुम्बिनी विकास बैंक साथै सम्पूर्ण नेपाल तथा नेपालीलाई गौरवान्वित बनाएको छ ।
हाल बैंकले सातवटै प्रदेशमा ७९ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा थप सातवटा शाखा खोल्नको लागि तयारी अवस्थामा छ । बैंकले निरन्तर सहयात्रा भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिकरूपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।