काठमाडौं । चेक बाउन्स मुद्दाकी फरार प्रतिवादी पक्राउ परेकी छिन् । महानगरीय प्रहरी परिसर काठमाडौंले काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं ८ बस्ने ४० वर्षीया लक्ष्मी कार्कीलाई पक्राउ गरेको जानकारी दिएको छ । परिसरका अनुसार कार्कीले जाहेरवाला प्रकाश खरेललाई आफूले लिएको ऋण तिर्नको लागि ८० लाख रुपैयाँको चेक दिएकी थिइन् ।
उक्त चेकमा उल्लिखित रकमको सटहीको लागि बैंकमा पेश गर्दा पर्याप्त रकम नरहेकोले बैंकबाट चेक बाउन्स भएको र प्रतिवादी कार्कीले बैंक खातामा रकम नभए पनि चेक काटेर बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिम कसुर गरेको हुँदा पीडितले बैंकिङ कसुर मुद्दामा प्रहरी परिसर काठमाडौंमा पेश गरेको जाहेरी दरखास्तउपर अनुसन्धान गरेको थियो ।
सोही अनुसन्धानको आधारमा परिसरको टोलीबाट खोजतलास गर्ने क्रममा फरार रहेका प्रतिवादी कार्कीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको सहयोगमा काभ्रेको पनौती नगरपालिका ८ बाट नियन्त्रणमा लिई काठमाडौं सोही दिन उच्च अदालत पाटन, ललितपुरबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ ।