काठमाडौं । सीमा सुरक्षाको एकलौटी जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले दक्षिणी सीमातर्फको बोर्डर आउट पोष्ट हटाएर नीतिगतरुपमा नै राष्ट्रघात गरेका छन् ।
उनले आफ्नो देशको सीमा सुरक्षालाई कमजोर बनाएर विदेशीलाई मनपरी गर्न सजिलो बनाइदिएका छन् । महानिरीक्षक खनालले १४ वटा बोर्डर आउट पोष्ट र हाई वे सुरक्षा पोष्ट हटाएका थिए र विप्लव नेतृत्वको माओवादीबाट सुरक्षा खतरा बढेको भन्दै सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बललाई पहाडी जिल्लाहरुमा खटाएका थिए । झट्ट हेर्दा निकै राम्रो देखिए पनि त्यसभित्र लुकेको रहस्यचाहिँ दक्षिणी सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बललाई हटाउनु नै थियो र त्यही अवसर पूरा गर्न आईजीपी खनालले गृह मन्त्रालयका सहसचिवस्तरसम्मै सेटिङ मिलाएर उक्त निर्णय गराएका थिए । नक्कली राष्ट्रवादको मुखुण्डो लगाएर नेपाली समाजमा राष्ट्रवादको शंखनाद गर्दै शासन गरेको नेकपाको झण्डै दुई तिहाइ बहुमतको केपी ओली सरकारको पालामा सीमा सुरक्षा बललाई निर्णय गरेर पहाडी जिल्लामा खटाइएको थियो ।
जब कि त्यही क्षेत्रको सीमापारि भारततर्फ तीन किलोमिटरको दूरीमा भारतीय सीमा सुरक्षा बल तैनाथ गरिएका छन् । तर नेपालतर्फबाट सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएपछि भारतीय पक्षले एकलौटीरुपमा जे गरे पनि हुने अवस्था सिर्जना भएको छ । श्रीमतीलाई अमेरिकी बसोबासको चाँजोपाँजो मिलाएर राखेका महानिरीक्षक खनाल अवकाशपछि नेपाल छाड्ने सुरसारमा छन् । यसरी विदेशी अस्थायी बसोबासको मेसो मिलाएका व्यक्तिहरुलाई नेपालको कुनै पनि क्षेत्रमा उच्च पदमा नियुक्ति दिँदा निम्तिने दुष्परिणाममध्येकै यो एउटा उदाहरण हो । ओली सरकारले चुच्चे नक्सा छापेर कालापानी क्षेत्र समेत राखी गरेको बेलामा सबैभन्दा राष्ट्रवादी बनेर उफ्रिनेमध्येका एक हुन् आईजीपी खनाल । तर उनले दार्चुलाको छाङरुमा बीओपी स्थापना गर्न सरकारले गरेको निर्णय पाँच महिनासम्म कार्यान्वयन नगरेको पक्षमा कुनै पनि निकायले सोधपुछ समेत गरेको पाइएको छैन ।
महानिरीक्षक खनालले भारतीय पक्षलाई खुसी पार्न मनमौजी काम गर्न सजिलो बनाउन दक्षिणतर्फको बीओपीबाट सशस्त्र प्रहरी बललाई हटाउने निर्णय गराएका थिए । त्यसो गर्दा नेपालतर्फको सीमामा सुरक्षाकर्मीविहीन हुने अवस्था आयो र आईजीपी खनालले विदेशी पक्षलाई लगाएको त्यो गुण नै नेपालको लागि राष्ट्रघात बन्नपुगेको छ ।
स्मरणीय के छ भने नेपाल र भारतबीच खुल्ला सीमा छ । त्यहाँ नेपाली सुरक्षाकर्मी नहुँदा भारतको एकलौटी भएको छ । नेपालको सीमा सुरक्षा हेर्ने सशस्त्र सीमा क्षेत्रको आफ्नो बीओपी हटाएपछि त्यसलाई राष्ट्रवादी कदम भनी प्रचार गर्न उनले केही सुराकी खटाएका छन् । दक्षिणतर्फ हेर्ने सुराकीले खनालको कामप्रति औँला उठाउनेलाई उल्टै भारतीय दलाल भनेर खेदो खन्ने गरेको छ भने खनालले उत्तरतर्फको सूचनाको लागि खटाएको सुराकीमार्फत चीनलाई सूचना बेच्ने गरिएको छ ।
ठाउँ हेरी फरक फरक कुरा बोल्ने आईजीपी खनाल त्यस्ता सूचना बेच्ने बेचाउनेहरुसँग पनि सुपरिचित छन् र त्यही गिरोहसँगको सहकार्यमा आफूलाई महान् राष्ट्रवादी भनाउँदै आएका छन् । आईजीपी खनालले १४ वटा बीओपी हटाएपछि सशस्त्र प्रहरीभित्रै विवाद भएको थियो तर उनले त्यसलाई पनि दबाएर राखेका छन् । विवादपछि आठवटा बीओपीचाहिँ पुनस्र्थापित भइसकेका छन् ।