काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको दाबी गरेकी छिन् । शनिबार काठमाडौं विद्युतीय व्यवसायी संघको १२औँ वार्षिक साधारणसभामा उनले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएको बताइन् ।
अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा नभएको भन्दै उनले नेपालको अर्थ व्यवस्था हेरेर आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताइन् । मन्त्री झाँक्रीले सरकारका गम्भीर तथ्याङ्क र गोप्य सूचना चुहाउनु अपराध रहेको बताउँदै त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गर्न जरुरी रहेको उल्लेख गरिन् । खाँडी मुलुकमा भएको कच्चा तेलको मूल्य वृद्धि र रसिया युक्रेनबीचको युद्धका केही बाछिटाहरू नेपालको अर्थतन्त्रमा देखिएको बताउँदै यसबाट आत्तिन आवश्यक नरहेको उनको भनाइ थियो । अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नुपर्ने बताइन् ।
कार्यक्रममा काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष सरोज कुमार रेग्मीले बैंक तथा वित्तीय संस्थाले अनावश्यक ब्याजदर बढाएको बताउँदै ब्याजदर सुनिश्चितता र व्यवसायीलाई सहुलियत हुनुपर्ने माग गरे । उनले नेपालमै विद्युतीय सामग्रीको गुणस्तर बढाउनुपर्नेमा समेत जोड दिए ।