काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका १ को चाल्नाखेल, वोसनमा केबलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी इको फ्रेन्डली कम्पनी प्रालिले एक पत्रकार सम्मेलन गरी केबलकार सञ्चालन गर्ने जानकारी दिएको हो ।
कम्पनीका तर्फबाट सञ्चालक कमलेश कुमार अग्रवालले केबलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अब निर्माण प्रक्रिया सुरु हुने जानकारी दिए । उनका अनुसार अबको तीन वर्षमा निर्माणकार्य सम्पन्न भई सो केबलकार सञ्चालनमा आउने छ । कम्पनीका अनुसार चम्पादेवीमाताको मन्दिर रहेको डाँडाहरु गरी करिब बाईस हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ । केही प्राविधिक एवं कानूनी अवरोधहरुको निकास सर्वोच्च अदालतबाट २०७४ साल असोज २८ गतेको निर्णयबाट प्राप्त गरिसकेपछि यो परियोजनाको कार्य तीव्रगतिले प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । यो केबलकार परियोजना २०७६ वैशाख २ गते बसेको ७१औँ नगर कार्यपालिकाको निर्णयअनुसार २०७६ वैशाख ६ मा केबलकार निर्माण तथा सञ्चालन अनुमति प्राप्त भएको हो ।
कम्पनीले नगरपालिकाबाट अनुमतिपत्र प्राप्त गरेपश्चात् कम्पनीलाई आवश्यक पर्ने जग्गाका जग्गाधनीहरु नेपाल तथा नेपालबाहिर विभिन्न देशमा बस्ने भएकोले जग्गाधनीहरुलाई सम्पर्क गरी आवश्यक पर्ने बेस स्टेसन, रोप वेका जग्गाहरु ख्रिद गर्ने काम सम्पन्न गरिसकेको जनाएको छ । कम्पनीले खहरे चोकदेखि चाल्नाखेल बोसनमा रहेको बेस स्टेसनसम्मको बाटोको सर्भेे, पार्किङ एरिया सर्भे, रोप वेको सर्भे, माउन्टेन–१ र २ सर्भेलगायतको काम सकेको जनाएको छ । कम्पनीले उक्त केबुलकार सञ्चालनका लागि डिजाइन अष्ट्रियन कम्पनीबाट तयार गरेको छ । कम्पनीका अनुसार यहाँ ल्याइने केबलकार युरोपियन केबलकार हुनेछ । कम्पनीले चम्पादेवीमाताको मन्दिरको डिजाइन वरिष्ठ आर्किटेक र वास्तु विशेषज्ञ शंकरनाथ रिमालबाट गरिएको हो ।
कम्पनीले उक्त केबलकार प्रोजेक्ट निर्माण गर्नका लागि पाँच सयदेखि छ सय करोड अनुमानित खर्च गर्ने योजना रहेको जानकारी गराएको छ । केबलकार वि.सं. २०७९ (२०२२) को अन्त्यमा सुरु गरेर वि.सं. २०८१(२०२५) को अन्त्यमा सक्ने कम्पनीको लक्ष्य छ । कम्पनीले विदेशी लगानीकर्ता समेत भित्र्याउने लक्ष्य राखेको छ । यो परियोजना सञ्चालनको लागि स्थानीयबासीहरुको पनि पूर्ण सहयोगको अपेक्षा गरेको जनाएको छ । कम्पनीले बोसन गाउँदेखि बेस स्टेसनसम्मका सडकलाई डिजाइन गरेको नक्साअनुसार विस्तारका लागि आवश्यक पहल गरिदिन पनि अनुरोध गरेको छ ।