काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयात प्रतीतपत्र (एलसी) खोल्ने कार्यलाई निरन्तरता दिन प्रधानमन्त्री शेर बहादुर देउवासँग माग गरेको छ । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री देउवासँग भेट गरी एलसी खोल्ने व्यवस्था गर्न माग गरेको हो । अध्यक्ष थापाले नेपालको अटोमोबाइल क्षेत्रलाई नजरअन्दाज गर्दै बैंकजस्ता वित्तीय निकायहरुले सम्पूर्ण सवारी तथा ढुवानीका साधनलगायत त्यसमा प्रयोग हुने स्पेयर पार्ट्सको आयातका लागि प्रतीतपत्र खोल्ने कार्य व्यवसायीहरुलाई कुनै समय नै नदिई अप्रत्याशित रुपमा बन्द गरिएको गुनासो गरे ।
उनका अनुसार अटोमोबाइल क्षेत्रमा दुई खर्बभन्दा बढीको लगानी छ । यस क्षेत्रले हरेक वर्ष एक खर्ब ५० अर्बभन्दा बढी राजस्वमा योगदान पु-याउँदै आएको र देशको प्रत्यक्ष रोजगारीमा ५० हजारभन्दा बढीलाई अवसर दिँदै आएको उनले बताए । सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रको ठूलो योगदानका बाबजुद पनि सरकारका नीतिहरु सधैँ अटोमोबाइल व्यवसायीहरुलाई निरुत्साहित गर्ने खालको हुने गरेको गुनासो गरे ।
छलफलमा प्रधानमन्त्री देउवाले नाडाको सुझावहरुलाई सकारात्मक रुपमा लिँदै सवारीसाधनहरुको आयातका लागि प्रतीतपत्र खोल्न बन्द गरिएकोबारे आवश्यक जानकारी लिई सम्बन्धित निकायमा निर्देशन दिइने आश्वासन समेत दिएको नाडाले जनाएको छ । सो छलफलमा कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्यसमिति सदस्य निराकार श्रेष्ठसमेतको उपस्थिति थियो ।