नयाँ दिल्ली । कोरोना भाइरसबाट भारतमा अझै पनि दैनिक झण्डै थप ११ सय मानिस संक्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा देशभर एक हजार एक सय ५० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयले संक्रमित अवस्थामै रहेकाहरूको संख्या भने ११ हजार तीन सय ६५ रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा एक हजार एक सय ९४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा चार करोड २५ लाख एक हजार एक सय ९६ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।
पछिल्लो समय दैनिक संक्रमित र सक्रिय संक्रमितहरूको संख्या घट्दै गइरहेको तथ्यांकले देखाएको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण ८३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु भएकाहरूको संख्या भने पाँच लाख २१ हजार छ सय ५६ पुगेको छ । (रासस/एएनआई)