कोलम्बो । बिग्रिँदो वित्तीय स्थितिमा जुधिरहेको श्रीलंकामा मानिसहरुको अवस्था झन् झन् खराब हुनथालेको छ । पेट्रोल–डिजेलदेखि खाद्य उत्पादनहरुजस्ता कयौँ सामानको मूल्य आकाशिएको छ । यसले गरिबहरुको यी उत्पादनसम्मको पहुँच टाढा भइरहेको छ । पेट्रोल पम्पमा मानिसहरु ३६ घण्टासम्म लाइनमा बस्न बाध्य भएका छन् । यसले जनतालाई आक्रोशित बनाएको छ । सडक प्रदर्शन चर्किएको छ । यतिसम्म कि मानिसहरु आफ्नो गरगहना बेचेर दैनिक अत्यावश्यक सामान किन्न बाध्य भएका छन् । श्रीलंकाका पसल मालिकहरु यस्तो अवस्था अहिलेसम्म पहिलोपटक देखेको बताइरहेका छन् ।
श्रीलंकामा अहिले भइरहेको आर्थिक संकटबारे अनुमान कोलम्बो गोल्ड सेन्टरलाई हेर्ने हो भने पनि लगाउन सकिन्छ । समाचार संस्था एएनआईलाई श्रीलंकाको प्रसिद्ध कोलम्बो गोल्ड सेन्टरका सुन कारोबारीहरुले बताएअनुसार मानिसहरु दैनिक उपभोग्य वस्तु खरिदका लागि गहना बेच्ने अवस्थामा पुगेका छन् । एक कारोबारीले भने, ‘यहाँका मानिससँग खानको लागि पैसा छैन । सोही कारण सुन बेचिरहेका छन् । मानिसहरुको सामान घटिरहेको छ । यसअघि यस्तो स्थिति कहिल्यै आएको थिएनन ।’ रिपोर्टअनुसार श्रीलंका २४ क्यारेट सुनको भाउ एक लाख ९० हजार श्रीलंकाली रुपैयाँ छ । सुनको मूल्यमा यहाँ भारी उतारचढाव देखिइरहेको छ ।
बढ्दो मुद्रास्फीति : गरगहना व्यापारीहरुका अनुसार श्रीलंकाली मुद्रा लगातार अवमूल्यन भइरहेको छ । व्यापारीहरुका अनुसार श्रीलंकामा यसप्रकारको वित्तीय संकट पहिले नदेखिएको उनीहरुको भनाइ छ । श्रीलंकाको मुद्रा अहिले विश्वकै सबैभन्दा खराब प्रस्तुति दिइरहेको छ । आधिकारिक तथ्यांकअनुसार शनिबार श्रीलंकाली रुपैयाँ अमेरिकी डलरको तुलनामा ३१५ रुपैयाँको स्तरमा पुगेको छ । जुन हालसम्मकै कमजोर हो ।
उच्च महंगी : श्रीलंकामा महंगी पनि उच्च हिसाबले बढेको छ । अत्यावश्यक वस्तुको मूल्य आकाशिएको छ । एक कम चियाको मूल्य नै सय श्रीलंकाली मुद्रा पुगेको छ । श्रीलंकामा फेब्रुअरी महिनामा खुद्रा क्षेत्रको महंगी १७.५ प्रतिशत र खाद्य महंगी २५ प्रतिशतबाट माथि गएको छ । खाने र पिउने चिज तथा दालको मूल्यमा भारी वृद्धि भएको छ । औषधि र पाउडर दूधको मूल्यमा भने धेरै कम रहेको छ । १३–१३ घण्टासम्म बिजुली कटौती भइरहेको छ ।