ओटावा । क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रडेउले दुई वर्षसम्म केही विदेशी क्रेतालाई क्यानडाको रियलस्टेटमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेका छन् । यसअनुसार दुई वर्षका लागि उनीहरुलाई घर किन्न नपाउने व्यवस्था गरिनेछ ।
विश्वमै खराब घर सुविधागत समस्या सिर्जना भएपछि त्यससँग जुध्न यस्तो प्रस्ताव गरिएको बताइएको छ । अहिले घर क्षेत्रमा २० प्रतिशत धेरैले मूल्यवृद्धि भएको छ । यसले क्यानडामा औसत घरको मूल्य झण्डै आठ लाख १७ हजार क्यानडेली डलरसम्म पुगेको छ । जुन घरपरिवारको आम्दानीभन्दा नौ गुणा धेरै हो ।
तर यसक्षेत्रका विश्लेषकले भने विदेशीलाई घर किन्न रोक्दा मात्रै समस्याको समाधान निस्किनेमा शंका व्यक्त गरेका छन् । एक अनुसन्धानअनुसार विदेशी क्रेताले किन्ने घरले सानो हिस्सा मात्रै ओगटेको छ । त्यही कारण पनि विश्लेषकहरु उक्त प्रस्तावले ठूलो प्रभाव छोड्नेमा शंका व्यक्त गरिरहेका छन् । सन् २०२० मा कुल घर किनाइमध्ये विदेशीको हिस्सा एक प्रतिशत मात्रै रहेको देखिएको छ जुन सन् २०१५ र २०१६ मा नौ प्रतिशत रहेको थियो ।