काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोनालगायत अन्य कारणबाट सफ्टमा परेको नेपालको उद्यम तथा व्यवसाय क्रमशः लयमा फर्कंदै आएको बताएका छन् । उद्यम तथा व्यवसायले बिस्तारै लयमा आएकोले नआत्तिईकन व्यावसायिक धर्म निर्वाह गर्न सापकोटाले व्यवसायीहरूलाई आग्रह समेत गरे ।
नेपाल चेम्बर अफ कमर्सको ७१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय एकताका साथ व्यावसायिक प्रवद्र्धनमा केन्द्रित हुन उद्योगी तथा व्यवसायीलाई आवह्वान गरे । जनता र राष्ट्रलाई केन्द्रमा राखेर व्यवसायको प्रवर्द्धन गर्नुपर्नेमा उनको जोड थियो । यस्तै उनले कुशल व्यवसायी नै समाजको पथप्रदर्शक समेत हुनेभएकाले राज्यको नियम तथा कानुन पालना गर्दै उद्यममा क्रियाशील हुन नेपालको व्यावसायिक क्षेत्रको ध्यानाकर्षण गराए ।
कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागीले व्यवसायिक क्षेत्रको प्रवर्द्धन र विस्तारका लागि सरकारले सहयोग गरिरहेको बताए । पछिल्ला दिनमा उद्योग तथा व्यवसायका क्षेत्रमा पनि नयाँ खालको जोखिम देखिए पनि सबैको सुझाव र सल्लाहका आधारमा सरकार अगाडि बढ्ने उनको भनाइ थियो । उद्योगी तथा व्यवसायीको समस्या समाधानका लागि सरकारकातर्फबाट निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी नहुने उनले बताए ।
कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कोरोनाको असर कम भएसँगै मुलुकको अर्थतन्त्र पूरानै लयमा फर्किन संघर्षरत रहेको उल्लेख गर्दै बजेट र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सबै क्षेत्रमा चाप परेका विषयलाई नकार्न नसकिने बताए । बढ्दो आयात र कमजोर निर्यात, वैदेशिक सहायता तथा लगानीको अभावका कारण वैदेशिक मुद्राको अभाव भई मुलुकको व्यापारघाटा धान्न नसक्ने गरी बढेको उनको भनाइ थियो । अध्यक्ष मल्लले विद्यमान समस्या समाधानका लागि सरकारी निकायले चनाखो भई चिन्तन गर्नुपर्ने र उपयुक्त उपाय निकालेर कार्यान्वयनमा लैजानुपर्ने बताए । यस्तै उनले अहिले मुलुकमा विद्युत् आपूर्तिको समस्या उत्पन्न भएको बताए । साथै पूर्वी युरोपमा चलेको सशस्त्र द्वण्द्वले पेट्रोलियमलगायतका केही अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या उत्पन्न हुनुका साथै उच्च मूल्य वृद्धि भएको उनको भनाइ थियो ।
कार्यक्रममा उनले आयातमुुखी एवं उपभोगमुखी प्रवृत्ति बढेकोले बाह्य व्यापारमा असन्तुलन बढ्नुका साथै अर्थतन्त्र कमजोर बन्दै गएको उल्लेख गरे । त्यसैले स्वदेशी उत्पादनको खपतलाई प्रोत्साहन गरी हरेक क्षेत्रमा आयात प्रतिस्थापनको लक्ष किटान गर्ने र निर्यात प्रवर्द्धनका सम्पूर्ण उपायहरू अवलम्बन गर्नु जरुरी रहेको उनको भनाइ छ । यस्तै उनले भर्खर–भर्खर विकसित हुन लागेको पुँजी बजार एक्कासि ओरालो लाग्न थालेकोले यो क्षेत्रलाई प्रोत्साहित गरिनुपर्नेमा जोड दिए । सेयर बजारको अवस्थाले नै बाह्य लगानीलाई पनि आकर्षित गर्ने हुँदा यसलाई प्रवर्द्धन गर्ने विषयमा जिम्मेवार पक्षको ध्यान जानु अति आवश्यक रहेको उनको भनाइ छ ।
यसैगरी अध्यक्ष मल्लले विश्व व्यापार संगठन एवं विभिन्न सम्झौताहरूमा मुलुकले जनाएको प्रतिबद्धताअनुसार भन्सारका दरबन्दीहरू समायोजना गरिनु जरुरी रहेको बताए । एलसीमार्फत हुने आयातमा शतप्रतिशतसम्मको मार्जिन राख्नुपर्ने प्रावधानले व्यवसायका लागत बढ्न गएको उनको भनाइ छ । उनका अनुसार एलसी एवं भन्सारमा कारोबारमूल्यलाई मान्यता दिइनुपर्दछ । आयकरको अधिकतम सीमा व्यक्तिगततर्फ छ लाख रूपैयाँ र दम्पतीतर्फ आठ लाख पु¥याइनुपर्ने र कारोबारको आधारमा आयकर निर्धारण गर्ने र मूल्य अभिवृद्धि करको खाता राख्ने थ्रेस होल्ड ५० लाखबाट बढाई एक करोड रूपैयाँ गरी करको दर शून्य दशमलव ५ प्रतिशत गरिनुपर्नेमा उनले जोड दिए । यसले साना व्यवसायीलाई राहत पुग्ने र राजस्व पनि वृद्धि हुने उनको भनाइ छ ।
तुलनात्मक लाभ लिन सकिने कृषि, पर्यटन, जलस्रोत, खानी तथा गेम्स स्टोन आदि क्षेत्रको प्रवर्द्धनका लागि राज्य र निजी क्षेत्रबीच थप सहकार्य हुनु आवश्यक रहेको अध्यक्ष मल्लले बताए । जडीबुटी, गेम्स स्टोन एवं अन्य कच्चापदार्थको निर्यातभन्दा स्वदेशमै प्रशोधन गरी निर्यात गर्ने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । उनका अनुसार कृषि कर्जामा ३ प्रतिशतको ब्याज कायम गरेर कृषकलाई सहुलियत दिइनु पर्दछ । साथै कृषि कर्जा खेत किन्नेलाई नदिई खेती गर्ने किसानलाई दिनुपर्ने र बाँझो जमिन तथा सरकारी जमिन लिजमा दिई उत्पादन वृद्धि गर्नुपर्नेमा उनले जोड दिए । कृत्रिम मूल्य वृद्धि नियन्त्रण र आपूर्तिलाई सहज राख्न सार्वजनिक संस्थानहरूले कृषि उत्पादनमा दुई वर्षको बफर स्टक राख्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।
७१ वर्षअगाडि स्थापना भएको चेम्बरको हालसम्म ७० जिल्ला चेम्बर, ५१ नगर चेम्बर, ४३ वस्तुगत तथा द्विराष्ट्रिय चेम्बरहरू नेपाल चेम्बरमा आबद्ध भइसकेका छन् । ७० भन्दा बढी मित्रराष्ट्रहरूका चेम्बरसँग समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भई आपसी हित र आर्थिक समृद्धिका क्षेत्रमा सहकार्यहरू भइरहेको चेम्बरले जनाएको छ । यस्तै चेम्बरले विभिन्न अवार्डबाट नेपालको आर्थिक क्षेत्रमा योगदान प्रदान गर्ने महानुभावहरूलाई सम्मान समेत गरेको छ ।