बर्लिन । जर्मनीले यही वर्षदेखि रुसी तेलप्रतिको निर्भरता तोड्ने भएको छ । चान्सलर ओलाफ स्कोल्जले यस्तो संकेत गरेका हुन् । पत्रकारहरुले यसबारे गरेको प्रश्नमा जवाफ दिँदै रुसी तेल र ग्यास किनेर अर्बौँ युरो रुसमा पठाउनु शर्मनाक कुरा भएको बताए ।
‘हामी रुसी तेल आयातबाट स्वतन्त्र हुन सक्रिय रुपमा काम गरिरहेका छौँ’, उनले भने, ‘मलाई लाग्छ यही वर्ष हामी रुसी तेल आयात बन्द गर्न सक्नेछौँ ।’ स्कोल्जले बेलायती प्रधानमन्त्रीसँगै भएको संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएको रोयटर्सले जनाएको छ । युरोपेली संघले यही हप्ता युक्रेनमाथि आक्रमण गरेको विरोधमा रुसमाथि थप प्रतिबन्ध लगाउने प्रस्ताव स्वीकृत गरेको थियो ।
जर्मनीले रुसी ऊर्जा आयात कम गर्दै लग्ने रणनीति लिएको छ । जर्मन तेल आयातको २५ प्रतिशत हिस्सा रुसी तेलले ओगटेको छ । आक्रमणअघि यस्तो हिस्सा ३५ प्रतिशत थियो । त्यस्तै ग्यासमा यस्तो हिस्सा ५५ प्रतिशतबाट ४० प्रतिशतमा झरेको छ । रुसको कोइलातर्फको आयात पनि ५० प्रतिशतबाट २५ प्रतिशतमा झरिसकेको बताइएको छ ।