नवभारत टाइम्स, नयाँ दिल्ली । यदि तपाईंले शार्क ट्यांक भन्ने एक रियालिटी शो हेर्नुभएको छ भने सुन्नुभएको होला– सेयर धेरै महत्वपूर्ण कुरा हो । आफ्नो सेयर यसै जान दिनुहुँदैन । धेरै व्यवसायी र उद्यमीहरु पनि आफ्नो सेयर बचाइराख्ने सल्लाह दिन्छन् तर एक यस्ता व्यवसायी पनि छन् जो आफ्नो सेयर उपहारमा बाँडिरहेका छन् । उनी हुन् आाईडीएफसी फस्र्ट बैंकका प्रबन्धनिर्देशक तथा प्रमुख कार्यकारी अधिकृत वी वैद्यनाथन । ५४ वर्षीय उनी धेरै वर्षयता सेयर उपहारमा बाँडिरहेका छन् । हालसम्म उनले आफ्नो कुल सम्पत्तिको ३८ प्रतिशत सेयर बाँडिसकेका छन् ।
कसकसलाई दिए सेयर गिफ्ट ? वैद्यनाथनले सन् २०१८ मा आफ्नो फाइनान्स कम्पनी क्यापिटल फर्स्टलाई आईडीएफसी बैंकसँग मर्ज गरे । योसँगै आईडीएफसी फर्स्ट बैंक बन्यो र वैद्यनाथनले धेरै सेयर पनि पाए । जब उनी क्यापिटल फस्र्ट चलाइरहेका थिए त्यतिखेरै उनी उपहारमा सेयर बाँड्थे । मर्जरअघि उनले ४० करोड सेयर एक सोसल ट्रस्टलाई गिफ्ट दिए । त्यस्तै करिब २० करोड सेयर आफ्ना कर्मचारीलाई दिएका थिए । मर्जरपछि पनि उनले सेयर गिफ्ट गर्ने सिलसिला जारी नै राखेका छन् ।
तर यसको अर्थ यो होइन कि उनी आफ्नो सेयर केवल ट्रस्ट र कर्मचारीलाई मात्रै दिन्छन् । उनी आफ्ना आफन्त, निजी कर्मचारी, चालक, घरमा काम गर्ने, तालिम दिने सबैलाई दिन्छन् । उनले अहिलेसम्म ६८ करोड सेयर बाँडिसकेका छन् । यो भनेको उनको कुल सम्पत्तिको ३८ प्रतिशत हुन आउँछ ।
कोरोना समयमा उनले सेयर बाँड्नेबारेको कुरा धेरै भाइरल भएको थियो । केन्द्रीय विद्यालयका उनका एक शिक्षकले एक अन्तर्वार्ताको क्रममा जाने बेला उनलाई पाँच सय भारु गिफ्ट दिएका थिए । वैद्यनाथनले आफ्ना ती शिक्षकलाई करिब ३० लाखको सेयर उपहारमा दिएका थिए ।
किन बाँड्छन् सेयर ? उनले सेयर बाँड्ने गरेको बारे उनलाई सोधिएको थियो । सो क्रममा उनले खास कारण खुलाएका थिए । उनका अनुसार तलबबाट आफ्नो सबै खर्च पुग्छ । यस्तो अवस्थामा दोस्रा व्यक्तिहरुको मद्दत केवल सेयरबाट गर्न सकिने उनको भनाइ छ । उनको भनाइ छ पैसाको प्रयोग भइरहनुपर्छ । डिम्याट एकाउन्ट खाली हुनुहुँदैन भन्ने मान्यता राख्छन् उनी । त्यस्तै उनी दान दिने परिपाटी नै बदल्न चाहन्छन् ।